सम्पत्ति शुद्धिकरणको मामिलामा नेपाल पर्ने सूचीको आज टुङ्गो लाग्दै

फाल्गुन ९, २०८१ | काठमाडौं

सम्पत्ति शुद्धिकरणको मामिलामा नेपाल कुन सूचीमा पर्ने हो भन्ने टुङ्गो आज लाग्दैछ । फ्रान्सको पेरिसमा आयोजित अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को बैठक आज सकिएपछि सो संस्थाले सम्पत्ति शुद्धिकरणको मामिलामा जोखिमयुक्त सूचीमा पर्ने देशहरुबारे जानकारी गराउने बताइएको छ ।

 संस्थाको वेबसाइटमा उल्लेख भए अनुसार यही फेब्रुअरी १७ मा शुरु भएको बैठक आज समापन हुँदैछ । सम्पत्ति शुद्धिकरणको क्षेत्रमा देशहरुले लिएको नीति, मापदण्ड र कानून कार्यन्वयन लगायत बिषयको मूंल्याङ्कन गर्दै सो संस्थाले जोखिमयुक्त देशहरुको सूचि सार्वजनिक गर्ने गरेको छ । विज्ञहरुका अनुसार नेपाल ग्रे लिस्टमा पर्ने सम्भावना छ । 

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुन कार्यान्वयन, वित्तीय अपराधको अनुसन्धान, कारबाही लगायत बिषयमा आवश्यक सुधार हुन नसक्दा नेपाल ग्रे लिस्टमा पर्ने देखिएको हो । यसअघि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अघिल्लो महिना आयोजित एक सार्वजनिक कार्यक्रममा नेपाल सम्पत्ति शुद्धीकरण मामिलामा जोखिमयुक्त देशमा सूचीकृत भई अन्तर्राष्ट्रिय अनुगमनमा जान सक्ने सम्भावना रहेको बताउनुभएको थियो । 

निर्धारित समयावधिमा आवश्यक सबै क्षेत्रमा सुधार गर्ने प्रतिबद्धतापछि नेपाललाई सूक्ष्म निगरानीमा राख्दै एफएटीएफले सुधारका लागि गत असोजसम्ममा एक वर्ष समय दिएको थियो । ग्रे लिष्टमा परेमा नेपाललाई आर्थिक, वित्तीय र कूटनीतिक क्षेत्रमा असर पार्ने बताइन्छ । 


प्रतिक्रिया