वीरगञ्ज नाकाबाट इन्धन आयातबाटै १ खर्ब ४ अर्ब बाहिरियो

फाल्गुन १३, २०८१ | पर्सा
चालू आर्थिक वर्षको ७ महिनामा वीरगञ्ज नाकाबाट एक खर्ब रुपैयाँ भन्दा बढीको इन्धन आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयको तथ्यांक अनुसार गत साउनदेखि माघसम्म डिजेल, पेट्रोल, एलपीजी ग्यास, हवाई इन्धन र मट्टितेल आयातबाटै मात्रै १ खर्ब ४ अर्ब ७६ करोड रुपैयाँ बाहिरीएको छ । सो अवधिमा सबै खाले इन्धनको आयात बढेको देखिएको छ ।
वीरगञ्ज इन्धन आयात हुने मुलुकको प्रमुख नाका पनि हो । डिजेल पाइपलाइनबाट आयात हुँदै आएकोमा पछिल्लो समय पेट्रोल र मट्टितेल पनि पाइपलाइनबाटै आयात हुन थालेको छ । समीक्षा अवधिमा ५१ अर्ब ७९ करोड रुपैयाँ बराबरको ५ लाख ८१ हजार ७ सय ९९ किलोलिटर डिजेल आयात भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा ५४ अर्ब १२ करोड रुपैयाँ बराबरको ५ लाख १९ हजार ८ सय ४० किलो लिटर डिजेल आयात भएको थियो ।
त्यसैगरी चालू आर्थिक वर्षको ७ महिनामा सो नाका हुँदै २२ अर्ब १४ करोड रुपैयाँ बराबरको २ लाख ५५ हजार किलोलिटर पेट्रोल आयात भएको छ । गत आवको सोही अवधिमा २२ अर्ब ४० करोड रुपैयाँ बराबरको २ लाख २६ हजार किलोलिटर पेट्रोल आयात भएको थियो । चालू आर्थिक वर्षको समीक्षा अवधिमा २० अर्ब ९० करोड रुपैयाँ बराबरको १८ करोड २९ लाख किलो एलपीजी ग्यास आयात भएको छ ।
गत आवको सोही अवधिमा १६ अर्ब ३० करोड रुपैयाँ बराबरको १५ करोड ९२ लाख किलो एलपीजी ग्यास आयात भएको भन्सार कार्यालयको तथ्यांक छ । चालू आवको समीक्षा अवधिमा ९ अर्ब ५२ करोड रुपैयाँ बराबरको १ लाख ५ हजार किलोलिटर हवाई इन्धन आयात भएको छ ।
गत आवको सोही अवधिमा १० अर्ब ७१ करोड रुपैयाँ बराबरको ९७ हजार २ सय ६४ किलोलिटर हवाई इन्धन आयात भएको थियो । समीक्षा अवधिमा सो नाका हुँदै ४१ करोड रुपैयाँ बराबरको ४ हजार ५ सय ६० किलोलिटर मट्टितेल आयात भएको छ । गत आवको सोही अवधिमा ३८ करोड रुपैयाँ बराबरको ३ हजार ६ सय किलोलिटर मट्टीतेल आयात भएको थियो ।
वीरगञ्ज भन्सारले कार्यालयले संकलन गर्ने राजश्वमा इन्धन आयात हुने योगदान ठूलो रहेको छ । चालू आवको समीक्षा अवधिमा मात्र वीरगञ्ज भन्सारले संकलन गरेको कुल राजश्वमा इन्धन आयातको योगदान ४६ प्रतिशत रहेको छ ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत अमित तिवारीले इन्धनको आयात बढ्नुमा सवारी साधनको संख्यामा वृद्धि र औद्योगिक प्रयोजनमा पनि इन्धनको प्रयोग बढ्दै जानु मुख्य कारण भएको बताउनुभयो । बर्सेनि दशैं, तिहार जस्ता ठूला चाड नजिकिँदा अन्य वस्तुसँगै इन्धनको आयात पनि बढ्ने प्रवृत्ति रहेको र अन्य महिनामा सामान्य अवस्थामै इन्धन भित्रिने गरेको तिवारीको भनाई छ ।