भद्रपुर झापा गोल्डकपमा भद्रपुरले बंगलादेशी टोलीको सामना गर्ने

फाल्गुन १३, २०८१ | झापा
भद्रपुर झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल चरणका खेल आज सुरु हुँदैछ । पहिलो सेमिफाइनलमा आयोजक भद्रपुर ब्लेजर्सले पाहुना टोली बंगलादेशको काउवार्न बाजार प्रगति संघको सामना गर्नेछ ।
भद्रपुरस्थित मेची रंगशालामा दिउँसो साढे २ बजे भद्रपुर ब्लेजर्स र बंगलादेशी टोली आमनेसामने हुनेछन् । बंगलादेशी टोलीले न्युरोड टिम एनआरटीलाई २–० गोल अन्तरले हराउँदै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।
आयोजक भद्रपुर ब्लेजर्सले भने विभागीय टोली नेपाल पुलिस क्लबलाई २–१ गोलले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।
दोस्रो सेमिफाइनलमा भुटानको डागा युनाइटेड फुटबल क्लबले झापा–११ एफसीको सामना गर्नेछ । भुटानी टिमले चौंथो क्वाटरफाइनल खेलमा विभागीय टोली एपीएफ क्लबलाई ३–२ गोलले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो ।