पूर्वराजालाई कारबाहीको साटो आराम गर्न दिएका हौं : दाहाल

फाइल फोटो 

फाल्गुन २४, २०८१ | रौतहट

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजदरबारबाट बाहिरिने बेला पूर्वराजा ज्ञानेन्द्र शाहलाई कारबाही गर्नुको साटो आराम गर्न दिएको बताउनु भएको छ । 

अध्यक्ष दाहालले राजदरबारबाट बाहिरिने बेला पूर्वराजा ज्ञानेन्द्र शाहलाई कारबाही गर्नुको साटो आराम गर्न दिएकोले त्यसलाई कमजोरी नठान्न चेतावनी दिनुभयो । ‘त्यतिबेला जनताले उदारतापूर्वक कारबाहीको साटो आराम गर्न दिएको हो,’ उहाँले भन्नुभयो, ‘यसलाई कमजोरी नठानियोस् । राजनिति गर्न मन भए पाटी खोलेर आए हुन्छ । चुनाव लडे हुन्छ । त्ये सविधानले ब्यवस्था गरेको छ ।’ 

‘जनतासँग माओवादी : तराई मधेश जागरण अभियान’ अन्तर्गत रौतहट पुगेका अध्यक्ष दाहालले शनिबार गरुडामा पत्रकारहरुसँग बोल्दै देशमा फेरि राजा फर्किन असम्भव रहेको बताउनुभयो । ‘राजा अउने भन्ने हल्लाखल्ला मात्रै हो,’ दाहालले भन्नुभयो, ‘त्यो बेलाको हाम्रो उदारतालाई कमजोरी सम्झेर जबरजस्ती गर्न खोजे नेपाली जनताले सहदैनन् ।’ 

पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले अहिले फेरि मूर्खता गरेर आफ्नो बाँकी रहेको साख समाप्त पार्ने गल्ती नगर्न पूर्वराजा शाहलाई सुझाउनुभयो । ‘पूर्वराजा ज्ञानेन्द्रले पहिले पनि केही ठूलाठूला गल्ती गरेका छन् । मैले त मूर्खता नै भन्छु’ अध्यक्ष दाहालले भन्नुभयो, ‘अब अहिले पनि फेरि मूर्खता गरेर आफनो बाँकी रहेको साख समाप्त पार्ने गल्ती नगरुन् ।’ अध्यक्ष दाहालले पूर्वराजा शाहलाई राजनीति गर्न मन लागेको भए पार्टी खोलेर चुनाव लड्न र चुनाव जितेर काम गर्न चुनौती दिनुभयो । 

अर्को प्रसंगमा अध्यक्ष दाहालले घाटामा गएको नेपाल विद्युत् प्राधिकरणलाई नाफामा ल्याएकै कारण सरकारले कुलमान घिसिङलाई सिध्याउन खोजेको आरोप लगाउनुभयो । ‘सरकारले उल्टो काम गर्न थालेको छ,’ उहाँले भन्नुभयो, ‘यो दुर्भाग्य हो ।’ तराई–मधेश जागरण कार्यक्रम अन्तर्गत अध्यक्ष दाहाल शुक्रबार राति रौतहट आउनु भएको हो । शनिबार उहाँको रौतहटका विभिन्न पालिकाहरुमा भेटघाट तथा परोहा नगरपालिकाको लौकाहामा आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया