आज ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस

फाल्गुन २४, २०८१ | काठमाडौं

आज एक सय १५ औँ अन्तर्राष्ट्रिय महिला दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइदैछ । महिलाका हक र अधिकारको माग अघि सारेर महिलाले नै संघर्ष सुरु गरेको दिनको स्मरणमा हरेक वर्षको मार्च ८ तारिखमा यो दिवस मनाउने गरिन्छ । 

यसवर्ष ‘सबै महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तिकरण’ भन्ने नाराका साथ विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस बनाउन लागिएको हो । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने प्रचलन छ । तर, संयुक्त राष्ट्रसंघले सन् १९७५ मा यो दिवस मनाउन थालेपछि मात्रै यसले आधिकारिक मान्यता पाएको थियो । 

श्रमबारे उठेको आन्दोलनलाई संयुक्त राष्ट्र संघले वार्षिक कार्यक्रमका रुपमा अन्तर्राष्ट्रिय महिला दिवसको मान्यता दिएको थियो । नेपाल सरकार र सरोकारवाला निकाय तथा विभिन्न महिला संगठनले यस दिवसका अवसरमा विभिन्न कार्यक्रम गरी मनाउने तयारी गरेका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले प्रहरी प्रधान कार्यालयमा विशेष समारोहको आयोजना गर्दैछ । 

विभिन्न राजनीतिक दल सम्वद्ध महिला संगठनले पनि अन्तरराष्ट्रिय महिला दिवसको कार्यक्रम तय गरेका छन् । विश्वभरी विभिन्न क्षेत्रमा कार्यरत महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धि स्मरण गर्दै महिलाको प्रविधिमा पहुँचको विस्तार गर्ने, महिला सशक्तिकरण अभिवृद्धि गर्ने, लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने यस दिवसले लक्ष्य राखेको छ । 

यस्तै महिलालाई शिक्षित र आत्मनिर्भर बनाउने एवम् उचित सम्मान गर्ने लगायत उद्देश्य पनि यस दिवसको रहेको छ । नेपालको संविधानले सबै प्रकारका विभेद, शोषण र अन्यायको अन्त्य गरी सभ्य र समतामूलक समाजको निर्माण गर्ने नीति लिएको छ । यस्तै, महिलाको हक मौलिक हकको रुपमा स्थापित गरेको छ । 

समानुपातिक समाबेशी सिद्धान्तका आधारमा राज्यको राजनीतिक तथा प्रशासनिक जीवनमा अर्थपूर्ण रुपमा महिलाको सहभागिता बढदै गएको छ । हाल संघीय संसद्मा ३४ प्रतिशत, प्रदेशसभामा ३६ दशमलव पाँच र स्थानीय तहमा ४१ दशमलव एक प्रतिशत महिला जनप्रतिनिधि छन् । यसैगरी निजामती सेवामा अहिले करीब २८ प्रतिशत महिला कर्मचारीको उपस्थिति छ । 


प्रतिक्रिया