घिसिङलाई हटाउने सरकारको निर्णयको चौतर्फी विरोध

चैत्र १२, २०८१

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको चौतर्फी विरोध भएको छ । सरकारले निर्णयको विरोधमा समर्थक तथा विपक्षी दलका विद्यार्थी संगठनले काठमाडौंको प्रदर्शनीमार्ग, माइतीघर र नयाँ वानेश्वर क्षेत्रमा प्रदर्शन गरेका छन् । घिसिङका समर्थहरुले “लोडसेडिङ चाहिँदैन, कुलमानलाई हटाउन पाइँदैन” जस्ता नारा लेखेकोे ब्यानरसहित प्रदर्शन गरेका थिए । एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले काठमाडौँको प्रदर्शनीमार्ग क्षेत्रमा विरोध प्रदर्शन ग¥यो । 

सत्तारुढ दल कांग्रेसकै कतिपय नेताले घिसिङलाई हटाउने निर्णयको विरोध गरेका छन् । कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले उहाँलाई हटाउने निर्णय पार्टीको नभएको पनि बताउनुभएको छ । यसैबीच नेता शेखर कोइरालाले पनि घिसिङलाई हटाउने निर्णयको स्वामित्व कंग्रेसले नलिने बताउनुभएको छ । नेता कोइरालाले उक्त निर्णय “सरकारको कुशासनको निरन्तरताको अर्को कडी’ भएको टिप्पणी गर्नुभएको छ । यसैबीच, संसदको लेखा समितिको बैठकमा बोल्दै विपक्षी दलका सांसदले घिसिङलाई पदबाट हटाउने निर्णय सच्याउन सरकारलाई आग्रह गरेका छन् । माओवादी केन्द्रका सांसद एवम् पूर्वमन्त्री जनार्दन शर्माले काम गर्न नसकेको भनेर घिसिङलाई पदबाट हटाउनु गलत भएको बताउनुभयो ।

रास्वपाका सांसद हरि ढकालले जनताको भावना विपरित घिसिङलाई पदबाट हटाउनु सरकारको दम्भ भएको टीप्पणी गर्नुभयो । 

कलाकार हरिवंश आचार्य, मनोज गजुरेल, निश्चल बस्नेत, गायिक आस्था राउत, लेखक सुविन भट्टराई लगायतले घिसिङलाई पदबाट हटाएको बिषयमा सरकारको आलोचना गरेका छन् । उनीहरुले सरकारको निर्णय ठिक नभएको टिप्पणी सामाजिक सञ्जालमा लेखेका छन् । यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएपछि भइरहेका विरोधप्रति असन्तुष्टी जनाउनुभएको छ । प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सामान्य बिषयलाई तिलको पहाड बनाउन खोजिएको बताउनुभयो ।  


प्रतिक्रिया