रोहिंग्या शरणार्थीको लागि करिब १ अर्ब अमेरिकी डलरको सहायता अपिल

चैत्र १२, २०८१

संयुक्त राष्ट्रसंघले बंगलादेशमा रहेका करिब १५ लाख रोहिंग्या शरणार्थीको लागि करिब १ अर्ब अमेरिकी डलरको सहायता रकम अपिल गरेको छ । राष्ट्रसंघ र सयभन्दा बढी साझेदारहरूले रोहिंग्याको लागि दुई वर्षको लागि संयुक्त प्रतिकार्य योजना सुरू गरेका छन् । सोही कार्यक्रमको लागि राष्ट्रसंघले सहायता प्रदान गर्न माग गरेको हो । 

सन् २०२५ देखि २६ सम्म सञ्चालन हुने सो परियोजना वित्तीय स्रोतको कमी र विश्वव्यापी संकटका बीच अघि बढाउन लागिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पहिलो वर्षका लागि राष्ट्रसंघले ९ सय ३४ दशमलब ५ मिलियन अमेरिकी डलरको माग गरेको छ । 

सन् २०१७ मा म्यानमारमा भएको सैन्य कारबाहीबाट भागेर आएका अधिकांश पीडित र मुस्लिम अल्पसंख्यक रोहिंग्या बंगलादेशको राहत शिविरहरुमा बसिरहेका छन् । 


प्रतिक्रिया