नेपाल शिक्षक महासंघद्वारा शैक्षिक हडतालको घोषणा

चैत्र २५, २०८१ | काठमाडौं

विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएको नेपाल शिक्षक महासंघले शैक्षिक हडतालको घोषणा गरेको छ । महासंघले आन्दोलनलाई थप सशक्त बनाउन शैक्षिक हड्ताल सुरु गरेको हो । 

सरकारले आफूहरुको मागप्रति बेवास्ता गरेको भन्दै गत बुधबारबाट आन्दोलित महासंघले काठमाडौंमा र्‍याली, धर्ना लगायत विरोधका कार्यक्रम गर्दै आएका छन् । आन्दोलनलाई सशक्त बनाउन भन्दै आजबाट शैक्षिक हडतालको घोषणा गरिएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताउनुभयो । 

महासंघले देशभरका सबै विद्यालय बन्द गरी शिक्षक–कर्मचारीलाई काठमाडौंको शैक्षिक सडक आन्दोलनमा अनिवार्य सहभागी समेत आह्वान गरेको छ । चालू शैक्षिक सत्र अन्त्य र बैशाखदेखि सुरु हुने शैक्षिक सत्रको थालनी गर्ने बेला महासंघले उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन शिक्षकलाई अपिल गरेको छ ।

सरकारले वार्ता, संवाद र छलफलको लागि आह्वान गर्दा पनि महासंघले भने अस्वीकार गर्दै आएको छ । २०८० भदौमा संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयक यतिबेला प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति अन्तर्गतको उपसमितिमा दफाबार छलफलको चरणमा छ । 

हिउँदे अधिवेशन अन्त्य भएपछि शिक्षक महासंघले शिक्षा ऐन जारी गर्न ३ विकल्प अघि सारेको छ । विशेष वा बर्खे अधिवेशन डाकेर वा अध्यादेशबाट विद्यालय शिक्षा ऐन ल्याउनुपर्ने माग महासंघले अघि सारेको हो । 

शिक्षक महासंघमा कांग्रेस, एमाले, माओवादी लगायत विभिन्न राजनीतिक दल आबद्ध शिक्षक संगठन, निजी विद्यालय शिक्षक युनियन, विद्यार्थी–कर्मचारी संघका घटक आबद्ध छन् । महासंघले घोषणा गरेको शैक्षिक हडतालले देशभरका ३४ हजार सामुदायिक तथा निजी विद्यालयको शैक्षिक गतिविधि प्रभावित हुने भएको छ । शिक्षकहरुको आन्दोलनसँगै हडतालले शैक्षिक गतिविधि झनै बिथोलिने शिक्षा मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया