मच्छिन्द्र जितपुर सिमरा गोल्डकपको सेमिफाइनलमा

चैत्र २५, २०८१ | बारा
मच्छिन्द्र फुटबल क्लब बारामा जारी १५ औं जितपुर सिमरा गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आइबार बेलुका भएको खेलमा साविक विजेता नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै मच्छिन्द्रले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
मच्छिन्द्रको जितमा गोलरक्षक विशाल सुनार नायक बने । उनी खेलका म्यान अफ दी म्याच घोषित भए । उनले पुलिसको अन्तिम महत्वपूर्ण प्रहार विफल पार्दै मच्छिन्द्रलाई ४–३ गोल अन्तरको जित दिलाए ।
टाइब्रेकरमा मच्छिन्द्रका लागि गोलरक्षक विशाल सुनार, विपन श्रेष्ठ, अशिम गुरुङ र पुजन श्रेष्ठले गोल गरेका थिए भने विवेक राईको प्रहार गोलपोस्टबाट बाहिरिएको थियो ।
पुलिसका लागि गोलरक्षक अमित टमाटा, पुजन राई र कप्तान मानबहादुर परियारले गोल गरेका थिए । अरुण गाहाको प्रहार मच्छिन्द्रका गोलरक्षकले रोकेका थिए । यसअघि निर्धारित समयको खेलमा ११ गोलको बराबरी भएपछि टाइब्रेकरमा गएको हो ।
पुलिसले विवेक पाण्डेको फ्री किक गोलबाट दोस्रो हाफको सुरुवातमै अग्रता बनाएको थियो । डिबक्स बाहिर मच्छिन्द्रका रेजिन सुब्बाले पुलिसका प्रज्वल चौधरीलाई फाउल गरेपछि पुलिसले फ्रिकिक प्राप्त गरेको थियो ।
खेलको ६१ औं मिनटमा उत्कृष्ट पुनरागमन गर्दै मच्छिन्द्रले खेल आफ्नो पक्षमा पा¥यो । अरुण गाहाको प्रहारलाई पुलिसको डिबक्स भित्र नियन्त्रणमा लिँदै अनिल रानामगरले दिएको पासलाई राजिव लोप्चनले गोलमा परिणत गरेका थिए । सोमबार अन्तिम क्वाटरफाइनलमा हिमालयन शेर्पा र फ्रेण्ड्स क्लब भिड्दै छन् ।