घट्दै मितेरी साइनोः आधुनिक जीवनशैली मुख्य कारण

चैत्र २४, २०८१ | काठमाडौं
नेपाली समाजमा दशकौंदेखि कायम रहँदै आएको मित र मितिनी लगाउने चलन पछिल्लो समयमा क्रमशः घटदै गएको छ । दुई फरक समुदायका बीचमा सम्बन्ध विस्तारको सेतुका रुपमा समेत हेरिएको मितेरी सम्वन्ध गाँस्ने परम्परा कम हुँदै जानुमा विभिन्न कारण देखिएका छन् । समयको परिवर्तनसँगै रहनसहन र जीवनशैलीमा परिवर्तन हुँदा मितेरी सम्बन्धबारे नयाँ पुस्तामा खासै चासो समेत भएको पाइएको छैन ।
नेपाली समाजमा भिन्न जातजाति र संस्कृतीबीच मितेरी लगाउने प्रचलन रहीआएको छ । फरक जातिय पृष्ठभूमि र एउटै जातिय समूहबीच व्यक्ति विशेषले मित र मितिनी सम्बन्ध बनाउने गरेको पाइन्छ । मित र मितिनीलाई आपसी सम्बन्ध मात्र नभई सामाजिक सद्भावको रुपमा समेत विकसित गरिएका छन् । पुरुषहरुबीच मित र महिलाहरुबीच मितिनी गाँस्ने चलनलाई गीतसङ्गीत र चलचित्रमा समेत व्यापक प्रयोगमा ल्याइएको छ । वरिष्ठ गीतकार यादव खरेलको रचनामा लोकप्रिय बनेको एउटा गीतले भन्छ,“नरिसाउ मितिनि ज्यू, नरिसाउ मितिनि ज्यू, खुट्टैमा गरिदिन्छु म त ज्यू ज्यू, खुट्टैमा गरिदिन्छु म त ज्यू ज्यू”
नेपाली संस्कृतिले मितेरी सम्बन्धलाई ठूलो मानेको पौराणीक आधार समेत भेटिएका छन् । उदाहरणका लागि एक महिनासम्म चल्ने श्री स्वस्थानी व्रत कथालाई लिन सकिन्छ । जहाँ व्रतालुले स्वस्थानीको प्रसाद सकेसम्म छोरा र छोरा नभए मितछोरालाई दिनू भनेर मितेरी सम्बन्धलाई उजागर गरिएको छ । आधुनिक समयसँगै मित लगाउने परम्परा हराउँदै गएको देखिन्छ । पूर्वी नेपालमा बसोबास रहेको ताजपुरीया समाजमा रहेको मित लागउने परम्पराबारे ताजपुरिया समाज कल्याण परिषद्का अध्यक्ष पूर्णलाल ताजपुरिया भन्छन् “कुरा मिल्यो भने आफू आफू कुराकानी गर्छन, दोस्ती मिल्यो भने आँफै गर्छन र पछि परिवारका सदस्यलाई पनि भन्छन् । पहिला पहिला त अलि बढी थियो अहिले चाँही घटेको छ । ”
मितेरी सम्बन्धका बहुआयामिक पक्ष छन् । समाज विकासका क्रममा पहिले पहिले एक ठाउँबाट अर्को ठाउँमा पुग्दा बसोबासका लागि हुने समस्या कम गर्न बीच बाटो पर्ने स्थानमा समेत मितेरी साइनो गाँस्ने गरेको इतिहासहरुको भनाइ छ । आखिर किन मित लााउने प्रचनल कम हुँदै गयो त भन्ने प्रश्नमा संस्कृतीविद् दिनेशराज पन्त भन्छन्, “पहिले समाजका सिमितता थिए अहिले मित लागने मात्र होइन अरु जात्रामा पनि धेरै रमाउँथे अहिले घट्दै गए, पहिले शहरमा भन्दा पनि गाँउमा चाँही मित लगाउने परम्परा थियो ”
विशेषगरी पहाडी क्षेत्रका गाउँ ठाउँमा मितेरी साइनो गाँस्ने परम्परा भएपनि पछिल्ला समयमा भने त्यसप्रति त्यति धेरैको चासो रहेको पाइँदैन । मितेरी साईनोका विषयमा बहस नभएपनि यसको प्रभाव भने लामो समयदेखि नेपाली समाजमा पर्दै आएको छ । राणाकालीन समयमा पनि पनि मितेरी साइनोका रोचक प्रसङ्ग रहेको इतिहासको पुस्तकमा उल्लेख छन् । भनिन्छm, नेपाल भोट युद्ध हुँदा नेपाली सेनाको नेतृत्व गर्दै युद्धस्थलसम्म जाने क्रममा जंगबहादुर राणा मुस्ताङ पुग्दानपुग्दै बीच बाटोमा बिरामी भएपछि उनले सल्लाको रुखसँग मीत लगाएका थिए । त्यस्तै, राणाकालमै अर्का प्रधानमन्त्री चन्द्रशमशेरले लमजुङका स्थानीय गुरुङ समुदायका एक जनासँग मीत लगाएको पाइन्छ ।
त्यसो त पृथ्वीनारायण शाहले पनि नेपाल एकीकरण गर्ने क्रममा मितेरी सम्बन्धलाई कूटनीतिक रुपमा प्रयोग गरेका थिए । शाहले भक्तपुरका राजा रणजित मल्लका छोरा वीरनरसिंह मल्लसँग मितेरी साइनो गाँसेका थिए । गोरखाका राजा राम शाहले ललितपुरका राजा सिद्धिनरसिंह मल्लसँग, गोरखाका राजा पृथ्वीपति शाहले काठमाडौँका राजा नृपेन्द्र मल्लसँग र नरभूपाल शाहले रणजित मल्लसँग मित लगाएको प्रसंग इतिहासका दस्तावेजमा भेटिन्छन् । त्यतिमात्र होइन नेपाल अङ्ग्रेज युद्धमा नेपालीको आस्था, विश्वास, मूल्य, मान्यता र संस्कृतिलाई बुझेका अङ्ग्रेज शासकका सैन्य अधिकारीले समेत नेपालीहरुसँग मितेरी साइनो लगाएको चर्चा गरिएको पाइन्छ । त्यसबाहेक आम नागरिकले पनि आफ्नो धार्मिक र साँस्कृतिक प्रचलन अनुसार मितेरी सम्वन्ध गाँस्ने गरेका छन् । मितेरी साईनो अन्य नाता भन्दा प्रगाढ र फरक हुने गरेको मानवशास्त्री सुरेश ढकाल बताउँछन् ।
मितेरी साइनो गाँस्ने क्रममा कुनै मन्दिरमा गई वा उपयुक्त स्थानमा मण्डप वा वेदी नै तयार गरी गणेश, दीप र कलशको स्थापना गरी हवन गर्ने समेत प्रचलन छ । सामान्य अवस्थामा भने मन, मुुटु, स्वभाव र भावना मिलेका साथीहरबाट गच्छे अनुसारको उपहारका वस्तुहरू साटासाट गरी मीत लगाउने प्रचलन देख्न सकिन्छ । मितेरी सम्बन्धकोे प्रभाव केबल दुई व्यक्तिमा मात्र सिमित नभई दुइ फरक परिवारबीचमा देखिने मानवशास्त्री ढकालको बुझाई छ ।
मितेरी साइनोको प्रयोग संगीत क्षेत्रमा समेत भएको पाइन्छ । वरिष्ठ गायक नारायणगोपाल र रचनाकार तथा गीतकार गोपाल योञ्जनबीचको मितेर सम्वन्धको सबैभन्दा बढी चर्चा भएका थिए । त्यस्तै, केही राजनीतिक नेताले पनि अरुसँग मित लगाएको बिषय सार्वजनिक हुँदै आएका छन् । तर समाजका बहुआयामिक पक्षलाई आधुनिक समयको परिवर्तनले असर पारिरहँदा मित र मितिनी लगाउने चलन पनि घट्दै गएको बुझ्न कठिन छैन ।