सरकारलाई बाध्य पार्न आन्दोलन गर्नु पर्दैनः प्रधानमन्त्री ओली

चैत्र २८, २०८१ | काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि विषयमा सरकारलाई बाध्य पार्नका लागि आन्दोलन गर्न आवश्यक नभएको बताउनुभएको छ ।
विभिन्न दल र सामाजिक संघसंस्थाले काठमाडौं केन्द्रीत आन्दोलनलाई निरन्तरता दिइरहेका बेला प्रधानमन्त्री ओलीले नेपाल उद्योग वाणिज्य महासंघको कार्यक्रमलाई सम्वोधन गर्दै सरकारलाई दवावका लागि आन्दोलन गर्न आवश्यक नरहेको बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले नीतिगत सुधार र स्थायित्वलाई ध्यान दिएर सरकारले काम गरिरहेको समेत बताउनुभयो । नीतिगत अस्थिरता अन्त्य गर्न वर्तमान सरकार गठन भएको उहाँको भनाइ थियो । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री एवम् दुई दलीय संयन्त्रका सदस्य गगन थापाले अपेक्षा अनुसार सरकारले काम गर्न नसकेको बताउनुभएको छ ।
सरकारको जिम्मेवारी लिएका व्यक्तिले आफ्नो भूमिका निर्वाह गरे मात्र परिणाम आउने उहाँको भनाइ थियो । कांग्रेस र एमालेसहितको गठबन्धन सरकारले अपेक्षा अनुसार गति लिन नसकेको गुनासोबीच सत्तारुढ दलकै नेताहरुले सरकारको भूमिकामाथि प्रश्न उठाउन थालेका हुन् ।