नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना अभियान सुरु

वैशाख २, २०८२
सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने गरी नयाँ शैक्षिक सत्रको भर्ना अभियान सुरु भएको छ । विशेषगरी विद्यालयको पहुँच बाहिर रहेका बालबालिकालाई शिक्षा प्रदान गर्न हरेक वर्ष बैशाख महिनाभर भर्ना अभियान सञ्चालन गरिन्छ । करीब ५ लाख बालबालिका विद्यालयको पहुँच बाहिर रहेको सरकारको अनुमान छ । भौगोलिक विकटता, अपाङगता लगायत कारण बालबालिकालाई विद्यालयको पहुँचमा सहज रुपमा पु¥याउन सकिएको छैन ।
तीनै तहको सरकार, सरोकारवाला सबैले अपनत्व लिएर बालबालिकालाई विद्यालय भर्ना गराउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता शिव कुमार सापकोटाले अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐनले सबै बालबालिकालाई समान शिक्षाको पहुँचमा ल्याउने नीति अख्तियार गरेकाले सोही अनुसार सबै बालबालिकालाई विद्यालयमा समेट्ने गरी अघि बढेको बताउनुभयो । यसैबीच, गत चैत २० गतेदेखि आन्दोलनमा उत्रिएका शिक्षकहरुले विद्यार्थी भर्ना अभियान बहिष्कार गर्ने घोषणा गरेका छन् ।
नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना गर्न देशभरका स्थानीय तह र विद्यालयलाई सरकारले गरेको सर्कुलर बहिष्कार गर्दै शिक्षक महासंघले भने माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने जनाएको हो । तत्काल शिक्षा ऐन जारी गर्न दबाब दिंदै आएका उनीहरुले सडक आन्दोलनका कार्यक्रम जारी राखेका छन् ।