बार एशोसिएशनको अध्यक्षमा वरिष्ठ अधिवक्ता मिश्र निर्वाचित

चैत्र २८, २०८१ | काठमाडौं
कानुन व्यवसायीको छाता संगठन नेपाल बार एशोसिएशनको निर्वाचनले वरिष्ठ अधिवक्ता डा. विजयप्रसाद मिश्रको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।
२७ औं केन्द्रीय कार्यसमितिका लागि भएको निर्वाचनमा मिश्रले ५ हजार ५२ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले २ हजार ६ सय २१ मत प्राप्त गर्नुभयो । अध्यक्ष पदमा निर्वाचित भएपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै मिश्रले सविधान संसोधनका लागि समेत बारको तर्फबाट सहयोग गर्ने बताउनुभयो । स्वच्छ न्यायपालिकाका लागि काम गर्ने उहाँको भनाइ छ ।
मिश्र नेतृत्वकै बृहत् लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट अन्य पदाधिकारी विजयी भएका छन् । मिश्र प्यानलबाटै महासचिवमा केदारप्रसाद कोइरालाले ४ हजार ८७४ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी यज्ञमणि न्यौपानेले २ हजार ३६७ मत प्राप्त गर्नुभयो । नवनिर्वाचित महासचिव कोइरालाले बार र बेञ्चबीचको सम्वन्धलाई ध्यान दिएर काम गर्ने बताउनुभयो ।
बारको महिला उपाध्यक्षमा सरस्वती श्रेष्ठ तथा सदस्यहरुमा रिङ्कु कुमारी यादव, इन्दिरा आचार्य, रन्जिता कार्की र शारदा गुरुङ निर्वाचित भएका छन् । निर्वाचित सदस्य कार्कीले महिला र युवा कानून व्यवसायीको हितमा काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।
बारको चुनावमा दलहरु निकट कानून व्यवसायी प्यानल बनाएर प्रतिस्पर्धा गरेका थिए ।