दुर्गा प्रसाईँलाई अनुसन्धानका लागि १२ दिन म्याद थप

चैत्र २९, २०८१
काठमाडौंको तीनकुने क्षेत्रमा गत चैत १५ गते राजावादी समूहको हिंसात्मक घटनाका कमाण्डर भनिएका व्यवसायी दुर्गा प्रसाईँमाथि अनुसन्धानका लागि १२ दिनको म्याद थप भएको छ ।
प्रहरीले भद्रपुरबाट पक्राउ गरि काठमाडौं ल्याएपश्चात जिल्ला अदालत काठमाडौंमा पेश गरिएकोमा अदालतबाट सो आदेश भएको हो । प्रसाईँसँगै पक्राउ परेका उनका अङ्गरक्षक दिपक खड्कामाथि समेत अनुसन्धानका लागि शिशिरराज ढकालको इजलासले १२ दिन म्याद थप गरेको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
पक्राउ परेका प्रसाईको उपचारको व्यवस्था मिलाउन समेत अदालतले सम्बन्धीत निकायलाई आदेश दिएको श्रेष्ठले बताउनुभयो । राजावादी समूहले गत चैत १५ गते गरेको प्रदर्शनलाई उत्तेजित पार्दै कमाण्डर प्रसाईँ फरार भएका थिए ।
फरार भएसँगै प्रहरीले खोजिकार्य जारी राखेको समयमा प्रसाईले आफू काठमाडौंमा रहेको भन्दै पहिलो पटक भिडियो सन्देश जारी गरेका थिए भने २ दिन अघि मात्रै पनि आफू नभागेको भन्दै दोस्रो पटक भिडियो सन्देश सार्वजनिक गरेका थिए ।