पूर्वराजा शाहद्वारा चैत १५ को घटनामा दुःख व्यक्त, विद्यमान वेथिती र विसंगतिमाथि टिप्पणी

चैत्र ३१, २०८१ | काठमाडौं

पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्षको अवसरमा शुभकामना सन्देश दिदै चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीको हिंसात्मक प्रदर्शनका क्रममा भएको क्षतिमा दुःख व्यक्त गर्नुभएको छ । भिडियोमार्फत् १३ मिनेट लामो शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले मुलुकमा विद्यमान वेथिती र विसंगतिमाथि टिप्पणी समेत गर्नुभएको छ । चैत १५ को घटनामा पूर्वराजालाई समेत जवाफदेही बनाउनुपर्ने माग भइरहेका शाहले घटनाप्रति दुःख व्यक्त गर्नुभएको हो ।

चैत १५ गतेको घटनापछि शाहले पहिलो पटक सार्वजनिक अभिव्यक्ति दिनुभएको हो । वर्तमान राजनीतिक प्रणालीप्रति घुमाउरो तवरमा आपत्ति जनाउँदै उहाँले बहुदलीय व्यवस्था र संवैधानिक राजतन्त्रको मान्यतामा आफू प्रतिवद्ध रहेको उल्लेख गर्नुभएको छ । यसअघि फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा सार्वजनिक अभिव्यक्ति दिएका पूर्वराजा शाहले सुशासनको बहाली र भ्रष्टाचारको अन्त्य मुलुकको मुख्य एजेन्डा बन्नुपर्ने बताउनुभएको छ । अहिलेका वेथितिविरुद्ध नागरिकले चाल्ने कदममा आफ्नो समर्थन रहने उहाँको भनाइ छ ।

आगामी वर्ष नेपाली इतिहासका लागि स्मरणीय बन्ने उहाँको भनाइ छ । पूर्वराजा शाहले मुलुकको खस्कदो अर्थतन्त्र, सेवा प्रवाहमा देखिएका समस्या लगायत विषयलाई आफ्नो सम्वोधनमा समेट्नुभएको छ ।


प्रतिक्रिया