दाहालको पछिल्लो अभिव्यक्ति सत्ताबाहिर हुँदाको कुण्ठा र पीडा भएको एमालेको ठहर

वैशाख १, २०८२ | काठमाडौं

सत्तारुढ दल एमालेले पछिल्लो पटकको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्तिलाई कुण्ठाको संज्ञा दिएको छ । एमालेको सचिवालय बैठकपछि उपमहासचिव प्रदिप ज्ञवालीले दाहालको सरकार परिवर्तनको भनाइ सत्ताबाहिर हुँदाको कुण्ठा र पीडा भएको निचोड निकालेको बताउनुभयो ।

चितवनमा हिजो पत्रकारसँग कुरा गर्दै माओवादी अध्यक्ष दाहालले नयाँ वर्षसँगै सरकार परिवर्नत हुने अभिव्यक्ति दिनु भएको थियो । सरकारले चाहेजति काम गर्न नसकेको भन्दै उहाँले बेटर पर्फर्मेन्सका लागि सरकारलाई भनिरहेको पनि उल्लेख गर्नुभयो । व्यवस्था नै पल्टाउन कोसिस गर्ने र सरकार परिवर्तनको ध्यानमा मात्र जाने अस्थिरताको प्रयत्न गलत भएको पनि उहाँले बताउनुभयो ।

यस्तै एमालेले चैत १५ गतेको राजावादी आन्दोलनका विषयमा पूर्वराजा ज्ञानेन्द्र शाह जवाफदेही हुनुपर्ने बताएको छ । उसले आन्दोलनका क्रममा भएका हिंसा र विध्वंस योजनावद्ध भएको ठहर गरेको छ ।

एमालेले ७ जनालाई सम्मान गर्ने

एमालेले पार्टी स्थापना दिवसमा कम्युनिस्ट आन्दोलनमा योगदान गर्ने ७ जनालाई कम्युनिस्ट योद्धा’ का रूपमा सम्मानित गर्ने निर्णय गरेको छ ।

उपमहासचिव ज्ञवालीका अनुसार वैशाख ९ गते पार्टी स्थापना दिवसका अवसरमा लालबहादुर विश्वकर्मा (कञ्चनपुर), स्वर्गीय रत्न शर्मा न्यौपाने (जाजरकोट), शोभारम बस्नेत (दाङ), बासस्वती देवकोटा (गोरखा), शान्ता मानवी (काठमाडौं), सत्यनारायण मण्डल (सप्तरी) र हरिचरण शिवाकोटी (झापा) लाई सम्मान गरिने बताउनुभयो । त्यस्तै पार्टीले वैशाख ११ गतेलाई गणतन्त्रको उत्सवका रूपमा मनाउने गर्ने निर्णय गरेको छ । 


प्रतिक्रिया