नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा र राष्ट्रियसभामा छलफल

वैशाख २३, २०८२
सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा र राष्ट्रियसभामा छलफल भएको छ । दुबै सदनमा सत्तारुढ दलले नीति तथा कार्यक्रमको बचाउ गरेका छन् भने विपक्षीले वर्तमान समस्याको समाधान नीति तथा कार्यक्रममा नदेखिएकोे टिप्पणी गरेका छन् ।
यसअघि प्रतिनिधिसभाको बैठकमा सत्तारुढ दल नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले केहीबेर अवरोध गरेका थिए । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई वैशाख १७ मा पक्राउ गरिएको विषयमा छानबिन माग गर्दै दुबै पार्टीले प्रतिनिधिसभा बैठकको कामकारबाही अवरुद्ध गरेका हुन् ।
सभामुख देवराज घिमिरेले गृहमन्त्री रमेश लेखकले सो बिषयमा जवाफ दिने प्रतिबद्धता आएको जानकारी दिनुभयो । त्यसपछि नीति तथा कार्यक्रममाथिको छलफल अघि बढेको थियो ।