मधेश प्रदेशका मन्त्री विजय कुमारसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

जेष्ठ ४, २०८२ | काठमाडौं

मधेश प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार सहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

सर्लाहीको बागमती नगरपालिका ४ र १२ मा पर्ने सागरनाथ वनमा विकास परियोजनाका नाममा सरकारी रकम दुरुपयोग गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज उनीहरुविरुद्ध ५६ करोड बढी सरकारी रकम दुरुपयोग भएको दाबीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

वन क्षेत्रमा ढुङ्गा माटो, गिटी लगायत निर्माण सामग्री उत्खनन्का क्रममा अतिक्रमण गरेको तथा उत्खनन भएको क्षेत्रमा बनेको खाल्डोमा माछापोखरी निर्माण गरिएको भन्दै सरकारी रकम निकासा गरि दुरुपयोग गरेको पाइएको अख्तियारले जनाएको छ ।

मधेश प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार,बागमती नगरपालिकाका तत्कालीन नगरप्रमुख भरतकुमार थापा, उप–प्रमुख लीलाकुमारी मुक्तान, सोहि नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोखरेल विरुद्ध अख्तियारले भ्रष्टाचारमुद्दा दायर गरेको हो

। यस्तै मधेश प्रदेशको अर्थ मन्त्रालयका तत्कालीन कानुन अधिकृत गोकुल भुजेल, नगरपालिकाका तत्कालीन इन्जिनियर निरन्जन लामिछाने, सागर पौडेल र नगरपालिकाका तत्कालीन लेखा अधिकृत विश्वराज पौडेल विरुद्धपनि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । अख्तियारका अनुसार माछापोखरी निर्माण गरिएको दाबी गरिएको क्षेत्रमा सरकारी अनुदान रकम उपलब्ध गराउन प्रदेश सरकारका मन्त्रीले एकतर्फी रुपमा निर्णय गरेको देखिएको छ । 


प्रतिक्रिया