प्रधानमन्त्रीले संसदमा सांसदले सोधेका प्रश्नको जवाफ दिने

जेष्ठ ६, २०८२ | काठमाडौं
प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठकमा सांसदले सोधेका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले आज जवाफ दिने कार्यक्रम रहेको छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
प्रतिनिधिसभा नियमावली बमोजिम सांसदले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।
बैठकमा पूर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।