प्रिमियर लिगमा ब्राइटनको उत्कृष्ट पुनरागमन जित

जेष्ठ ६, २०८२ | काठमाडौं

ब्राइटनले इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलविरुद्ध उत्कृष्ट पुनरागमन जित निकालेको छ । घरेलु मैदान फाल्मर स्टेडियममा गएराति भएको खेलमा ब्राइटनले लिग विजेता लिभरपुललाई ३–२ गोल अन्तरले पराजित गरेको हो । 

खेलमा दुईपटक अग्रता लिएपनि ब्राइटनले उत्कृष्ट पुनरागमन गरेपछि लिभरपुल पराजित भएको हो । हार्भी एलियटले नवौँ मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । 

खेलको ३२ औँ मिनेटमा यासिन अयारीले ब्राइटनका लागि बराबरी गोल फर्काए । पहिलो हाफको अतिरिक्त समयमा डोमिनिक सोबोस्लाइले गोल गरेपछि लिभरपुलले खेलमा पुनः अग्रता लिएको थियो । काओरु मितोमाले ६९ औँ मिनेटमा ब्राइटनका लागि बराबरी गोल फर्काए ।

खेलको ८५ औँ मिनेटमा वैकल्पिक खेलाडी ज्याक हिन्शेलवुडले गोल गर्दै घरेलु टोली ब्राइटनको जित सुनिश्चित गरे । लिभरपुललाई पराजित गरेसँगै ब्राइटनले अर्को सिजन युरोपियन फुटबल खेल्ने आशालाई जिवित राखेको छ । 

यो जितसँगै ब्राइटन ३७ खेलमा ५८ अंकसहित लिग तालिकाको ८ औँ स्थानमा उक्लिएको छ । अब ब्राइटनले आगामी आइतबार लिगको अन्तिम खेलमा टोटनहमसँग प्रतिरस्पर्धा गर्नेछ ।


प्रतिक्रिया