प्रतिनिधिसभाको बैठकमा आर्थिक सर्वेक्षण पेस हुने

जेष्ठ १३, २०८२ | काठमाडौं
संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची रहेको छ ।
यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, ऊर्जा र वन तथा वातावरण मन्त्रीले मन्त्रालय सम्बन्धी सांसद्को मौखिक प्रश्नको उत्तर दिने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
बैठकमा कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन २०८२ पेश गर्नुहुने संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेले जानकारी दिनुभयो ।
यस्तै, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवलकिसोर साह सुडीले बालबालिका सम्बन्धी विधेयक प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ ।
शिक्षामन्त्री रघुजी पन्तले राष्ट्रिय सभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।