गृहमन्त्री लेखकको राजीनामा माग गर्दै प्रतिपक्षी दलद्वारा संसद बैठक अवरुद्ध

जेष्ठ १३, २०८२
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिपक्षी दलले प्रतिनिधि सभाको बैठक अवरोध गरेका छन् । गृहमन्त्री लेखक भिजिट भिसा प्रकरणमा जिम्मेवार हुनुपर्ने र अनुसन्धानमा सहयोग गर्न राजीनामा दिनुपर्ने माग गर्दै प्रतिपक्षी दलका सांसदले बैठक अवरुद्ध गरेका हुन् । सभामुख देवराज घिमिरेले आजको बैठकको कामकारबाही प्रारम्भ गरेसँगै विपक्षी दलका सांसदले उठेर विरोध गरेका थिए । प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदहरुले गृहमन्त्रीको राजीनामा माग गर्दै संसदमा नाराबाजी समेत गरेका थिए । संसदमा बोल्दै माओवादी केन्द्रका सांसद बर्षमान पूनले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीलाई आरोपित गर्ने पक्षमा आफूहरु नभएपनि अनुसन्धानमा सघाउन राजिनामा दिनुपर्ने बताउनुभयो
अर्को प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले भिजिट भिसा प्रकरणमा उच्चस्तरिय छानविन समिति गठन गर्नुपर्ने माग अघि सारेको छ ।
प्रतिपक्षीको अवरोधपछि सभामुख देवराज घिमिरेले सांसदहरुलाई बस्न आग्रह गरेपनि उनहिरुले अस्वीकार गरेपछि बैठक आधा घण्टाका लागि स्थगित गरिएको थियो । त्यसपछि सभामुख घिमिरेले सबै दलका नेताहरुसँग छलफल गरेपनि सहमति हुन नसक्दा संसद बैठक भोलिसम्मका लागि स्थगित गरिएको हो । विपक्षी दलले गृहमन्त्री लेखकलाई संसदमा बोल्न नदिने अडान समेत राखेका छन् । यसैबीच, सत्तारुढ नेपाली कंग्रेसका सांसदले भने कर्मचारीमाथि अनुसन्धानलाई लिएर गृहमन्त्रीले राजिनामा दिनु नपर्ने धारणा राखेका छन् । संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै कंग्रेस सांसद रामहरि खतिवडाले कर्मचारीमाथि अनुसन्धान गर्न दिनुपर्ने तर गृहमन्त्रीको राजिनामा माग्नु पूर्वाग्रही भएको बताउनुभयो ।
सरकारले नयाँ बजेट ल्याउनु दुई दिनअघि संसदको कामकारवाही प्रभावित हुन पुगेको छ । संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते नयाँ आर्थिक बर्षको बजेट ल्याउने व्यवस्था छ ।