नेपाली राष्ट्रिय महिला टिम आज थाइल्यान्ड जाँदै

जेष्ठ १४, २०८२ | काठमाडौं

एसियन कप छनोटको तयारीमा जुटेको नेपाली राष्ट्रिय महिला फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज थाइल्यान्ड प्रस्थान गर्दैछ । थाइल्याण्डसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली महिला फुटबल टोली आज दिउँसो एक बजे बैंकक जान लागेको हो । 

एएफसी महिला एसिया कप छनोटको तयारीका लागि थाइल्यान्डसँग खेल्न जान लागेको नेपाली महिला टिमलाई अखिल नेपाल फुटबल संघ एन्फाले बिदाइ गरेको छ । नेपालले यही जेठ १६ र १९ गते बैंककमा दुई खेल खेल्ने तालिका छ । 

पहिलो खेल अभ्यासको रुपमा रहनेछ भने दोस्रो खेलले फिफा मैत्रीपूर्णको मान्यता पाएको छ । प्रतियोगितका लागि कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बाको कप्तानीमा टोलीको घोषणा गरिएको छ ।

टोलीमा कप्तान सुब्बासँगै अञ्जना रानामगर, उषा नाथ, अमृता जैसी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, रेणुका नगरकोटे, प्रिती राई, सरु लिम्बु, सविता रानामगर, रश्मीकुमारी घिसिङ लगायत छन् । 

सावित्रा भण्डारी युरोपबाट र रेखा पौडेल यूएईबाट सिधै थाइल्याण्डमा टिममा समावेश हुने एन्फाले जनाएको छ । एएफसी महिला एसिया कपको समूह एफ मा रहेको नेपालका लागि यो नै अन्तिम अभ्यास खेल हो । 

यस समूहमा नेपालसँगै लाओस, श्रीलंका र उज्वेकिस्तान रहेका छन् । समूह विजेताले आगामी वर्ष अस्ट्रेलियामा आयोजना हुने एएफसी महिला एसिया कपमा स्थान बनाउनेछ ।


प्रतिक्रिया