न्युजिल्यान्डका विदेशमन्त्री विन्स्टन पिटर्स नेपाल आउँदै

जेष्ठ १४, २०८२ | काठमाडौं

न्युजिल्यान्डका उपप्रधान तथा विदेशमन्त्री विन्स्टन पिटर्स औपचारिक भ्रमणका लागि आज नेपाल आउँदै हुनुहुन्छ । परराष्ट्र मन्त्रालयका अनुसार दुई दिने भ्रमणका लागि न्युजिल्यान्डका विदेशमन्त्री पिटर्स अपराह्न काठमाडौं आउन लाग्नु भएको हो । 

न्युजिल्यान्डबाट उपल्लो तहको राजनीतिक भ्रमण यो पहिलो भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता सहसचिव कृष्ण ढकालका अनुसार श्रीलंकाको भ्रमण सकेर पिटर्स नेपाल आउन लाग्नु भएको हो । 

पिटर्सले आजै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ । प्रतिपक्षी माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेट्ने कार्यक्रम रहेको छ । 

साँझ परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग द्विपक्षीय बैठक हुने मन्त्रालयले जनाएको छ । विदेशमन्त्री पिटर्स भोलि बिहान लुक्ला जाने र त्यहाँबाट फर्केपछि काठमाडौंका विश्व सम्पदा स्थलको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । पिटर्स भोलि नै साँझ दिल्ली फर्किनु हुनेछ ।

पछिल्लो समय दुई देशबीचको सम्बन्ध बढ्दै गएको छ । न्युजिल्यान्डमा नेपालका १ हजार २ सय विद्यार्थी अध्ययनरत छन् । त्यस्तै, त्यहाँ पेसा व्यवसाय गरेर बसेका तथा रोजगारीका लागि जाने नेपालीको संख्या पनि बढ्दो छ । 

न्युजिल्यान्ड सरकारले हिमाली क्षेत्रको विकास त्यहाँको शिक्षा, स्वास्थ्यको क्षेत्रमा सहयोग पु¥याउँदै आएको छ । न्युजिल्यान्डका एडमन्ड हिलारी र नेपालका तेन्जिङ शेर्पाले सन् १९५३ मा पहिलो पटक विश्वको सर्वोच्च शिखर सगरमाथा चढेदेखि नेपाल–न्युजिल्यान्डबीच विशेष सम्बन्ध रहँदै आएको छ । 


प्रतिक्रिया