कंग्रेसको विशेष महाधिवेशनः त्रासदी की प्रहसन ?

पुस २४, २०८२ | काठमाडौं

अन्ततः लामो विवाद र रस्साकस्सीपछि नेपाली कंग्रेसका असन्तुष्ट नेताहरुले विशेष महाधिवेशनको घोषणा गरेका छन् । जेन जी आन्दोलनपछि परिवर्तित सन्दर्भमा पार्टीमा नेतृत्व परिवर्तनको माग गर्दै चुनावअघि नै महाधिवेशन गर्नुपर्ने माग सम्वोधन नभएपछि यही पुष २७ र २८ गते विशेष महाधिवेशन हुने भएको हो । पार्टीले नयाँ कार्यतालिकासहित आगामी वैशाख अन्तिम साता नियमित महाधिवेशनको मिति तय गरिसकेको अवस्थामा हुन लागेको विशेष महाधिवेशनतर्फ धेरैको ध्यान गएको छ ।

भनिन्छ, इतिहासले आफैँलाई दोहो¥याउँछ, पहिलो एक त्रासदीका रुपमा र दोस्रो पटक प्रहसनका रुपमा । जर्मन दार्शनिक हेगेलले कुनै बेला दर्शनशास्त्रसम्बन्धी पुस्तक लेख्दै इतिहासमा कुनै पनि घटना दुई पटक घटित हुन्छ भन्ने मान्यता अघि सारेका हुन् । र, दर्शनशास्त्रको यही भनाइलाई व्यक्ति, समाज र देशको सन्दर्भमा आवश्यकता अनुसार व्याख्या गरिदै आएको छ । ती दार्शनिकको भनाइ अहिले नेपालको सबैभन्दा पुरानो राजनीतिक दल नेपाली कंग्रेसको हकमा लागू हुँदैछ, अर्थात् उसको इतिहासमा दोस्रो पटक विशेष महाधिवेशन हुने भएको छ । ६८ बर्षअघि २०१४ साल जेठ ११ गते कंग्रेसको विशेष महाधिवेशन भएको थियो । २०१२ सालको छैटौं महाधिवेशनबाट सभापति जितेका सुवर्णशमशेर राणाले जिल्ला सभापति लगायतको प्रस्ताव अनुसार विशेष महाधिवेशन गराएका थिए । सो महाधिवेशनबाट वीपी कोइराला कंग्रेस सभापतिमा सर्वसम्मत रुपमा निर्वाचित भएका थिए भने सुवर्णशमशेर कोषाध्यक्ष भएका थिए । पार्टीभित्र बढ्दो असन्तुष्टि लगायत कारणले विशेष महाधिवेशन गरिएको कंग्रेसको इतिहाससम्बन्धी दस्तावेजमा पढ्न पाइन्छ ।

त्यतिवेलाको सन्दर्भ र परिवेश फरक भएपनि पार्टीको हितमा कदम चालेको भन्दै सुवर्णशमशेरको योगदानलाई कंग्रेसजनले अझै स्मरण मात्र गरिरहेका छैनन्, पार्टीमा चर्किदो अन्तविरोध सम्वोधनका लागि विशेष महाधिवेशनलाई महत्वपूर्ण कदम मानेका छन् । चुनावअघि महाधिवेशन गर्नुपर्ने माग पुरा नभएपछि संस्थापन इतर पक्षले विशेष महाधिवेशनको घोषणा गरेका हुन् ।

पार्टी विधानको मर्म र भावनालाई पूर्ण सम्मान गर्दै विशेष केन्द्रीय महाधिवेशन गर्न लागिएको नेता पोखरेलले बताए । संस्थापन पक्षले अस्वीकार गरेका कारण विशेष महाधिवेशनको वैधतामाथि अहिले प्रश्न उठिरहेका छन् । तर नेता सुभाष पोखरेलले भने विशेष महाधिवेशनको स्वामित्व पार्टीले लिने दावी गरे ।

विशेष महाधिवेशनका लागि ५४ प्रतिशतभन्दा बढी प्रतिनिधिले हस्ताक्षर बुझाएपनि संस्थापन पक्षले वेवास्ता गरिएपछि कंग्रेसभित्रको विवाद उत्कर्षमा पुगेको हो । नियमित महाधिवेशन भर्सेस विशेष महाधिवेशनले गर्दा कतै पार्टी विभाजन गराउने त होइन भन्ने चिन्ता र चासो प्रकट भइरहेका छन् । नेता देवराज चालिसले विशेष महाधिवेशनले पार्टीलाई एकतावद्ध बनाउने बताए । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा हुन लागेको विशेष महाधिवेशनलाई कमजोर तुल्याउने संस्थापन पक्षको रणनीति देखिन्छ । सभापति शेरवहादुर देउवा पक्षले विशेष महाधिवेशनमा सहभागी नहुन प्रतिनिधिहरुलाई आग्रह गरेको छ ।

विशेष महाधिवेशनको सन्दर्भमा कंग्रेसको संस्थापन इतर पक्ष दुई कित्तामा विभाजित भएका छन् । महामन्त्री थापा र शर्माले विशेष महाधिवेशनको पहलकदमी गरेपनि नेता डा. शेखर कोइराला पक्षीय केन्द्रिय नेताहरुले पार्टी निर्णय अनुसार अघि बढ्नुपर्ने भन्दै नियमित महाधिवेशनलाई महत्व दिएको पाइन्छ । पार्टीलाई विग्रहमा लैजान नहुने सो पक्षको भनाइ छ । अहिलेको विवादले आगामी निर्वाचनमा पार्टीलाई अप्ठ्यारो पार्न सक्ने सहमहामन्त्री जीवन परियारले बताए ।

विधानको व्यवस्था अनुसार माग गरिएको विशेष महाधिवेशनलाई पार्टीले मान्यता नदिएपछि रुष्ट भएका नेताहरुले आफ्नो अभियानलाई निरन्तरता दिएका छन् । तैपनि विशेष महाधिवेशनले लिने नीति र पारित गर्ने दस्तावेजको सान्र्दभिकतामाथि समेत प्रश्न उठ्ने जोखिम बढाएको छ । विशेष महाधिवेशनले नेतृत्व परिवर्तनको हकमा के गर्छ भन्ने अझै निक्यौल भएको देखिदैन । यस्तो अवस्थामा गर्न लागिएको विशेष महाधिवेशनले कंग्रेसलाई कतातर्फ लैजान्छ भन्ने निश्चित छैन । यसर्थ “इतिहास एक पटक त्रासदी र अर्को पटक प्रहसनको रुपमा दोहोरिने” दार्शनिक मान्यतासँग दोस्रो पटक हुन लागेको कंग्रेसको विशेष महाधिवेशन मेल खान्छ या खाँदैन त्यो भने हेर्न बाँकी छ । 


प्रतिक्रिया