इरानमा रहेका नेपाली नागरिकको उद्धार गरिने

असार ७, २०८२ | काठमाडौं

इजरायल–इरान युद्धका कारण इरानमा रहेका नेपाली नागरिकको उद्धार गरिने भएको छ । भारत सरकारको सहयोगमा उनीहरुको उद्धार गरिने परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जानकारी दिनुभयो । 

इरानमा रहेका १६ जना नेपालीको उद्धारका निम्ति आफूले भारत सरकारसँग अनुरोध गरेको बताउँदै उहाँले सो विषयमा भारत सरकार सकारात्मक रहेको जानकारी दिनुभयो । 

भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा पनि नेपाली नागरिकको उद्धारका लागि भारत सरकारसँग निरन्तर सम्पर्क र समन्वयमा रहेका छन् । तेहरानस्थित भारतको दूतावासले आफ्ना नागरिकको उद्धार गर्दैछ ।

यस क्रममा सो दूतावासले नेपाली नागरिकलाई पनि सम्पर्कमा आउन सूचना जारी गरेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले इरानमा रहेका नेपालीको उद्धारका लागि त्यहाँस्थित भारतीय दूतावासका उपप्रमुखसँग सम्पर्क र समन्वय भइरहेको जानकारी दिनुभयो । 


प्रतिक्रिया