चितवनमा सवारी दुर्घटनामा मृत्यु भएका मध्ये चारको सनाखत

असार ७, २०८२ | चितवन

चितवनको राप्ती नगरपालिका–४ भण्डारा नजिक खहरे पुलमा बस र मइक्रोबस ठोकिदा शनिबार एक गर्भवतीसहित सात जनाको मृत्यु भएको छ । मृत्यु भएका तीन जनाको सनाखत भएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

घाइते २४ जनाको विभिन्न अस्पतालमा उपचार भईरहको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो । 

दुर्घटनामा परी मकवानपुरको हटिया–३ का ५५ वर्षीय सोमप्रसाद रुपाखेती, हेटौंडा–५ की ५३ वर्षीया मैंयाकुमारी न्यौपाने पहाडी, रौतहटको चन्द्रनिगाहपुर–६ का ३५ वर्षीया सीता चौधरी र माइक्रो बसका चालक हेटौंडा–१० का ३१ वर्षीय राजु थिङको मृत्यु भएको डीएसपी खनालले बताउनुभयो । 

बिहान सवा १० बजेतिर धनगढीबाट काँकडभिट्टा जाँदै गरेको प्रदेश १ –००१ ख ३५८३ नम्बरको बस र मकवानपुरबाट नारायणगढ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज २९९ नम्बरको विद्युतीय गाडी आपसमा ठोक्किएको थियो । 

दुर्घटनामा करीब ३५ वर्षकी गर्भवतीको पनि ज्यान गएको छ । माइक्रो बसले ओभरटेक गर्न खोज्दा अर्को साइडमा गएर बससँग ठोक्किएको चितवन प्रहरीका एसपी गोविन्द पुरीको अनुमान छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर, पाँच जनाको मध्यम र बाँकीको सामान्य रहेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया