प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, मन्त्रालयगत बजेटमाथि छलफल हुने

असार ७, २०८२ | काठमाडौं
प्रतिपक्षी दलहरुको बहिस्कारका कारण असहज बन्दै गएको प्रतिनिधिसभाको बैठक आज शनिबार पनि बोलाइएको छ । सरकारले गत जेठ १५ गते संसदमा प्रस्तुत गरेको विनियोजन विधेयक, २०८२ माथिको जारी छलफलका लागि बैठक बोलाइएको हो । बैठक विहान ११ बजे बस्नेछ । संसद सचिवालयले आजको बैठकका लागि विभिन्न १० वटा मन्त्रालयको बजेट प्रस्ताव माथि छलफल हुने सम्भावित कार्यसूची तयार पारेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, रक्षा मन्त्रालय, खानेपानी मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको वार्षिक विनियोजन माथि छलफल हुने कार्यसूचीमा उल्लेख छ । त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, गृह मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आगामी आर्थिक वर्षको बजेट प्रस्ताव माथि छलफल हुने सम्भावित कार्यसूचि छ ।
त्यस्तै, विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पनि आजको बैठकमा प्रस्तुत हुनेछन् ।