एमाले नेतृ भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त

असार ३१, २०८२
एमाले नेतृ भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई मन्त्रीमा नियुक्त गर्नुभएको हो । राष्ट्रिय सभाकी सदस्य रहेकी न्यौपाने मन्त्री भएसँगै मौजुदा मन्त्रीमण्डलमा परराष्ट्र मन्त्री आरजु राणासहित दुई जना महिला, विभागीय मन्त्री हुनुभएको छ ।
यसअघि बिचौलियासँग घूसका लिन सम्वाद गरेको अडियोका विवादमा तानिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले चौतर्फी आलोचनापछि राजीनामा दिनुभएको थियो । गुप्ताले आफूमाथि लागेका आरोपको अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनेर राजीनामा दिएको बताउनुभएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा राजिनामा बुझाएपछि सामाजिक सञ्जाल फेसबुकमा लेख्दै गुप्ताले आफूले पद छाडेकोबारे जानकारी दिनुभएको हो ।
हिजो प्रधानमन्त्री ओलीले गुप्तालाई बोलाएर २४ घण्टाभित्र स्पष्टीकरण दिन र चित्त नबुझेमा राजीनामा दिन निर्देशन दिनुभएको थियो । भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख र मालपोत कार्यालय कास्कीको तत्कालीन प्रमुखको सरूवा रोक्न ५३ लाख घुस लेनदेनसम्बन्धी ’डिल गरेको’ अडिओ सार्वजनिक भएपछि गुप्तालाई पदबाट हटाउनुपर्ने माग भएको हो । गुप्ताले घुस डिल गरेकोसम्बन्धी विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको बताइएको छ ।