कांग्रेसको १५ औं महाधिवेशन मंसिरभित्र हुँदैनः नेता सिटौला

श्रावण ११, २०८२ | काठमाडौं
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको १५ औं महाधिवेशन आगामी वर्षको मंसिरभित्र हुन सक्ने बताउनुभएको छ । क्रियाशील सदस्यताको टुंगो लागी नसकेकाले आगामी मंसिरमा महाधिवेशन सम्भव नभएको सिटौलाको भनाइ छ ।
अर्को प्रसंगमा नेता सिटौलाले तत्काल सरकार परिवर्तन हुने सम्भावना नभएको बताउनुभयो । सहमति अनुसार सरकार अघि बढ्ने उहाँको भनाइ छ ।
बागमतीका मुख्यमन्त्रीको पद धरापमा
यसैबीच नेपाली कांग्रेसकै सांसदबाट अविश्वासको प्रस्ताव दर्ता भएसँगै बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको पद धरापमा परेको छ ।
सभापति शेरबहादुर देउवा निकट रहेका लामा र कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँबीचको शक्ति संघर्ष पश्चात उत्पन्न परिस्थितिका कारण यतिबेला प्रदेशको राजनीति तरंगित भएको छ ।
मुख्यमन्त्री लामाले आफ्नो विरुद्धमा हस्ताक्षर गर्दै राजिनामा दिएका चार जना मन्त्रीको स्थानमा नयाँ मन्त्री नियुक्त गर्दै बानियाँ पक्षमा खुलेका सांसदलाई फकाउने रणनीतिमा लाग्नुभएको छ । त्यसकालागि केन्द्रीय नेतृत्वलाई विश्वासमा लिन मुख्यमन्त्री लामा काठमाडौं आउनुभएको छ ।
बजेटमा भएको विवाद र मुख्यमन्त्रीको कार्यशैलीलाई कारण देखाउँदै राजनीतिक परिस्थिति फेरिएको हो । अहिले बानियाँको पक्षमा २१ जना सांसदले हस्ताक्षर गरेका छन् । बागमती प्रदेशमा नेपाली कांग्रेसको ३७ सिट छ । संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने विधानको व्यवस्थाका कारण बानियाँले मुख्यमन्त्री लामालाई संसदीय दलबाट हटाउन कांग्रेस संसदीय दलको सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराउनु भएको हो ।