राजनीतिमा आउन नदिने एमालेको निर्णयप्रति भण्डारीको चर्को असन्तुष्टी

श्रावण ९, २०८२ | काठमाडौं
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले नेतृत्वसँग थप टकराव सृजना हुने गरी पार्टीको केन्द्रीय कमिटीको वैधतामाथि प्रश्न उठाउनुभएको छ । पार्टी सदस्यताबाट वञ्चित गर्दै सक्रिय राजनीतिमा आउन नदिने एमालेको केन्द्रीय कमिटीको निर्णयप्रति भण्डारीले चर्को असन्तुष्टी समेत जनाउनुभएको छ । एमालेको निर्णयले आफ्नो संवैधानिक अधिकार र स्वतन्त्रतालाई संकुचन गरेको दावी गर्दै भण्डारीले त्यसबाट आफू विचलित नहुने बताउनुभएको छ । एमालेको केन्द्रिय कमिटीले सक्रिय राजनीतिमा आउन नदिने गरी निर्णय गरेको केही दिनपछि भण्डारीले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आफ्नो धारणा सार्वजनिक गर्नुभएको हो । आफूलाई पार्टी सदस्य हुनबाट रोक्नुपर्ने कारण नभएको उहाँको भनाइ थियो ।
एमालेको कदमलाई भण्डारीले आवेग र उत्तेजनाका भरमा गरिएको निर्णयको संज्ञा दिनुभएको छ । पार्टीको अपरिपक्व निर्णयले आफूलाई दुःखित तुल्याएको पूर्वराष्ट्रपति भण्डारीले उल्लेख गर्नुभयो ।
केन्द्रीय कमिटीको निर्णयपछि भण्डारीको सदस्यता स्वतः खारेज भएको दावी एमालेका पदाधिकारी तहका नेताले गरिरहेका बेला उहाँले त्यसको प्रतिवाद गर्नुभएको हो । भण्डारीले राजनीतिमा फर्किने निर्णयबाट विचलित नभएको समेत बताउनुभयो ।
भण्डारीको पत्रकार सम्मेलनमा एमालेका कोही पनि केन्द्रीय नेता नदेखिएपनि भ्रातृ संगठनका केही नेता कार्यकर्ता भने सहभागी भएका थिए । भण्डारीले आफ्नो लिखित मन्तव्यको अन्त्यमा आफ्नो परिचय दिँदा पूर्व राष्ट्रपतिको सट्टा एमालेको पूर्वउपाध्यक्ष उल्लेख गर्नुभएको छ ।