नागरिक उन्मुक्ति पार्टीको अध्यक्षको जिम्मा लालवीर चौधरीलाई

श्रावण १५, २०८२ | काठमाडौं
नागरिक उन्मुक्ति पार्टीको संरक्षक रेशमलाल चौधरी पक्षले केन्द्रीय समितिको अध्यक्षको जिम्मा लालवीर चौधरीलाई दिएको छ । सो समूहको राष्ट्रिय भेलाले लालवीरलाई अध्यक्ष तोकेको संसदीय दलका नेता गंगाराम चौधरीले बताउनुभयो । बर्दिया–२ बाट संघीय सांसद निर्वाचित लालवीर रेशमकै बुवा हुनुहुन्छ ।
संरक्षक रेशमले श्रीमती रञ्जिता श्रेष्ठ चौधरीलाई हटाएर अध्यक्षमा बुवालाई ल्याउनुभएको हो । अध्यक्ष बनेपछि सञ्चारकर्मीसँग बोल्दै उहाँले कमिटीको सल्लाह र सुझावका आधारमा विधि र पद्धतीअनुसार नै पार्टीलाई निकास दिने बताउनुभयो । यसअघि, रेशम पक्षको भेलाले अध्यक्ष रञ्जितालाई पार्टीबाट निष्कासन गरेको थियो ।
काठमाडौंमा भएको भेलाले श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी अध्यक्षबाट हटाएको हो । रञ्जिता पोखराको बाटुलेचौरस्थित लिची बगानको जग्गा हिनामिना प्रकरणमा समेत मुछिएपछि नागरिक उन्मुक्तिमा विवाद देखिएको हो । यता, अध्यक्ष रञ्जिताले भने पार्टीको भेलाबारे कुनै जानकारी नभएको बताउनुभएको छ ।