बंगालको खाडीमा विकसित ‘मोन्था’ नामक समुन्द्री चक्रवातको प्रभाव नेपालमा पर्ने संकेत
कार्तिक ११, २०८२ | काठमाडौं
बंगालको खाडीमा विकसित ‘मोन्था’ नामक समुन्द्री चक्रवातको प्रभाव नेपालमा समेत पर्ने देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मोन्था चक्रवात क्रमशः भारतको भू–भाग हुँदै नेपालतिर प्रवेश गर्ने क्रममा छ । सो चक्रवातको प्रभाव पर्सी बिहीबारदेखि आगामी शनिबारसम्म रहने तथा कोशी र मधेस प्रदेशमा मध्यमदेखि भारी बर्षाको सम्भावना देखिएको विभागले जनाएको छ । त्यस्तै बाग्मती प्रदेशमा पनि मध्यम बर्षा हुन सक्ने देखिएको छ ।
चक्रवातका कारण ती क्षेत्रका नदीको जलसतह उल्लेख्य रुपमा बढ्ने सम्भावना रहेकाले तटीय क्षेत्रमा बसोवास गर्ने नागरिकलाई सतर्क रहन विभागले आग्रह गरेको छ । मधेश र कोशी प्रदेशका पहाडी तथा चुरे क्षेत्र भएर बग्ने स–साना खोला–नालामा भने तीव्र बहावको सम्भावना छ । त्यस्तै, हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना समेत रहेको विभागका बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीले बताउनुभयो ।
विशेषगरि बाग्मती प्रदेशका काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुली, मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी,धनुषा, सप्तरी र कोशी प्रदशेका संखुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्थुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी जिल्ला भई बहने नदीमा आकस्मिक बहावको सम्भावना उच्च देखिएको विभागले जनाएको छ ।








