नेत्रविक्रम चन्द नेतृत्वको पार्टी पहिलो पटक चुनावमा सहभागी हुँदै

रेडियो कान्तिपुर संवाददाता

कार्तिक ११, २०८२ | काठमाडौं

नेत्रविक्रम चन्द नेतृत्वको पार्टीले आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचनमा सहभागी हुने भएको छ । सो पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । 

पूर्ववत् पार्टीको नाम परिवर्तन गरेर कम्युनिष्ट पार्टी नेपाल राखेर दल दर्ताका लागि निवेदन दिएको सो पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिनुभयो । देश र जनताको मुक्तिका लागि निर्वाचनम सहभागी हुने निर्णय गरेको विश्वकर्माको भनाइ छ ।

माओवादीबाट अलग भई केही समय मोहन वैद्य नेतृत्वको पार्टीमा रहेका चन्दले २०७१ सालमा नेकपा गठन गर्नुभएको थियो । सो पार्टीले २०७४ सालको निर्वाचन बहिष्कार गरेपछि तत्कालिन सरकारले प्रतिबन्ध लगाएको थियो । 

तर २०७७ सालमा हिंसा परित्याग गरेको घोषणा गर्दै चन्द नेतृत्वको पार्टीले शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको थियो । अहिले माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकताको चर्चा भइरहँदा चन्दले नाम फेरेर चुनावमा भाग लिने नीति लिनुभएको हो । नेता विश्वकर्माले नेपालका कम्युनिस्ट पार्टीहरुलाई एक ठाउँमा ल्याउन आफूहरूले प्रयास गर्ने बताउनुभयो।

यसैबीच, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनमा सहभागी भएर लोकतान्त्रिक अभ्यासको निरन्तरता सबै राजनीतिक दलको साझा जिम्मेवारी भएको बताउनुभएको छ। 

नेत्रविक्रम चन्द नेतृत्वको कम्युनिष्ट पार्टी नेपाल दल दर्ताका लागि पुगेका प्रतिनिधिहरुसँगको छलफलमा बोल्दै भण्डारीले देशको वर्तमान राजनीतिक जटिलता समाधानका लागि आयोग आफ्नो संवैधानिक दायित्व पूरा गर्न प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । 


प्रतिक्रिया