अमेरिका र जापानबीच दुर्लभ खनिज आयात लगायत बिषयमा सम्झौता

रेडियो कान्तिपुर संवाददाता

कार्तिक ११, २०८२ | काठमाडौं

अमेरिका र जापानबीच दुर्लभ खनिजको आपूर्ति लगायत बिषयमा सम्झौता भएको छ । जापान भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री सनेइ ताकाइचीबीच सम्झौतामा हस्ताक्षर भएको हो ।

 यो सम्झौतालाई दुई पक्षीय सम्बन्धको नयाँ स्वर्णयुगको रुपमा परिभाषित गरिएको छ । खनिज आयातका लागि जापान चीनमा निर्भर रहने गरेकोमा अमेरिकाले खनिजसम्बन्धी सम्झौता गर्नुलाई महत्वपूर्ण मानिएको छ । जापानमा आयात हुने ७० प्रतिशत खनिज चीनबाट भित्रने गरेको बताइन्छ ।

 सम्झौतापछि अमेरिकाले अब जापानबाट हुने सबै आयातमा १५ प्रतिशत कर लगाउनेछ । ट्रम्प प्रशासनले विगतमा २५ प्रतिशत कर लगाउने चेतावनी दिँदै आए पनि १५ प्रतिशत करमा सहमति भएको हो । व्यापार सम्वन्धि सम्झौता अनुसार जापानले पनि अमेरिकामा ५ सय ५० अर्ब डलर लगानी गर्नेछ भने कार, विमान, कृषि र ऊर्जाजस्ता प्रमुख क्षेत्रसहित थप अमेरिकी सामान किन्ने प्रतिबद्धता जनाएको छ । जापान भ्रमण सकेर अमेरिकी राष्ट्रपति ट्रम्प दक्षिण कोरिया जाने तालिका छ ।


प्रतिक्रिया