हिमाली क्षेत्रमा हिमपात, सतर्कता अपनाउन प्रशासनको आग्रह

रेडियो कान्तिपुर संवाददाता

माथिल्लो मनाङ क्षेत्रमा सडकका हिउँ हटाउँदै सुरक्षाकर्मी । तस्बिर सौजन्यः जिल्ला प्रशासन कार्यालय, मनाङ 

कार्तिक ११, २०८२ | काठमाडौं

विभिन्न हिमाली जिल्लामा हिमपात भएको छ । उपल्लो मुस्ताङको कोरला नाका, लोमान्थाङ गाउँपालिका सहित मुक्तिनाथ क्षेत्रमा बिहानैदेखि हिमपात भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार उपल्लो मुस्ताङको लोमान्थाङ–२ छोसर, कोरला नाका र मुक्तिनाथ क्षेत्रसहित उपल्लो मुस्ताङ र तल्लो मुस्ताङका उच्च लेकमा वर्षासहित हिमपात भएको छ । त्यसैगरी, मुक्तिनाथ क्षेत्रमा हिउँ परेको मुक्तिनाथ विकास समितिका कर्मचारी रविन सुवेदीले जानकारी दिनुभयो ।

 मुक्तिनाथमा बिहानैबाट निरन्तर हिउँ परिरहेकाले मन्दिरमा पुग्ने दर्शनार्थीलाई समस्या परेको छ । माथिल्लो मनाङमा बाक्लो हिमपात भएको छ । त्यस्तै, मनाङको माथिल्लो क्षेत्र ३२ सय मिटरको उचाइमा रहेको पिसाङदेखि माथिल्लो क्षेत्र र नार्पाभूमिमा हिमपात भएको हो । 

यसैबीच, गोरखाको उत्तरी भेग चुमनुब्री गाउँपालिकाको विभिन्न ठाउँमा हिमपात भएको छ । चुम उपत्यकातर्फ लामागाउँ, लार, म्हु गुम्बा क्षेत्रमा हिउँ परेको छ । त्यस्तै नुब्री उपत्यकातर्फ मनास्लु पदमार्गको साम्दो, सामागाउँमा पनि हिउँ परेको स्थानीय बासिन्दाले बताएका छन् । 

उता, ताप्लेजुङको ओलाङचुङगोला र घुन्सामा पानी परेसँगै हिउँ परेको छ । ओलाङचुङगोलाको टिपताला भन्ज्याङ र सिञ्जे ताल क्षेत्रमा हिउँ परेकाले त्यसतर्फ जान कठिनाइ भएको स्थानीय प्रशासनले जनाएको छ ।

 यसैबीच, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले पदयात्रामा जाँदा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय कास्कीले सार्वजनिक सूचनामार्फत सबैमा आग्रह गरेको छ । प्रतिकूल मौसमका कारण उत्पन्न हुने जोखिम र लेक लाग्नसक्ने समस्यालाई दृष्टिगत गरी अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, खुमै डाँडा, कोरीलगायतका ठाउँमा मौसम सफा नभएसम्म पदयात्रामा नजान आग्रह गरिएको हो ।  


प्रतिक्रिया