एमालेको सचिवालय बैठक बस्दै
मंसिर ४, २०८२ | काठमाडौं
नेकपा एमालेले आज सचिवालय बैठक बोलाएको छ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्ने छ । जेनजी आन्दोलनपछि पहिलो पटक एमालेको सचिवालय बैठक पार्टी कार्यालयमा बस्न लागेको हो । यसअघि सचिवालय बैठक अध्यक्ष केपी ओलीको निवास गुण्डुमा बस्दै आएको थियो । पछिल्लो समय जागरण अभियान चलाउदै आएको एमालेले आगामी ६ गते काठमाडौंमा गर्ने प्रदर्शनको तयारी लगायतमा छलफल गर्ने जनाएको छ ।
त्यस्तै बैठकमा पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन र फागुनमा हुने आमनिर्वाचनका लागि एमालेको सहभागिताबारे छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । नेकपा एमालेले प्रतिनिधि सभा पुनस्र्थापनाका लागि सडक र अदालत दुवैबाट दबाब दिने तयारी गरेको छ ।
प्रतिनिधि सभा पुनस्र्थापनाका लागि आन्दोलन गर्ने घोषणा गरेको एमालेले फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा मङ्सिर १० गतेसम्म दल दर्ता गरिसक्नुपर्ने विषयमा पनि एमालेले अहिलेसम्म केही प्रतिक्रिया दिएको छैन ।
एमालेले मङ्सिर २७ गतेदेखि काठमाडौँमा ११ औँ राष्ट्रिय महाधिवेशन गर्ने जनाएको छ । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आजको सचिवालय बैठकमा भावी अध्यक्षको लागि औपचारिकरूपमा आफ्नो दाबी पेश गर्ने तयारी गर्नु भएको बुझिएको छ ।
बैठकमा पोखरेलले आफूलाई सर्वसम्मत अध्यक्षमा अघि सार्न प्रस्ताव राख्ने तयारी गरेको उहाँ निकट स्रोतको दाबी छ । पोख्रेलले यस अघि पनि एक अपिल मार्फत भावी नेतृत्वको लागि आफ्नो दाबी रहने सन्देश जारी गर्नु भएको थियो ।









