निर्वाचनमा भाग लिने कांग्रेसको निर्णय

मंसिर ६, २०८२ | काठमाडौं

कांग्रेसले निर्वाचनमा भाग लिने निर्णय गरेको छ । सानेपामा आज बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले वर्तमान राजनीतिक संकटको निकास, संविधानको संरक्षण र जेन–जीले उठाएको मागलाई संस्थागत रुपमा निर्वाचनबाटै सम्बोधन गर्न सकिने ठहर गर्दै निर्वाचनमा जाने निर्णय गरेको हो ।

संविधानको रक्षा गर्न समेत निर्वाचनमा जानुपर्ने बैठकले निष्कर्ष निकालेको कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभयो ।

कांग्रेसले निर्वाचनको वातावरण निर्माण बनाउन आग्रहसमेत गरेको छ । आम नागरिकलाई भयरहित वातावरण बनाउन कांग्रेसले हराइरहेका हतियार र कैदीबन्दीहरुलाई तत्काल नियन्त्रणमा लिनुपर्ने माग गरेको महतले बताउनुभयो ।

यसैबीच, गत असोज २८ गतेदेखि जारी बैठकले ५ बुँदे निर्णय समेत गरेको छ । बैठकपछि मुख्यसचिव कृष्णप्रसाद पौडेलद्धारा जारी विज्ञप्तीमा कांग्रेसले विद्यमान शान्ति–सुरक्षाको अवस्था र पछिल्ला दिनमा बढिरहेका उत्तेजक तथा अराजक गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।

कंग्रेसले निषेधको राजनीति नगर्न तथा संयमता अपनाएर संवाद मार्फत समाधान खोज्न सम्बद्ध सबै पक्षालाई आवहन समेत गरेको छ । यस्तै, कांग्रेसले बहुपक्षिय राष्ट्रिय संवाद आवश्यक भएकोे ठहर गरेको छ । 


प्रतिक्रिया