नेपाल आउने विदेशीमाथि कडा निगरानी गर्न अध्यागमन विभागको सुझाव
मंसिर ५, २०८२ | काठमाडौं
नेपालमा विदेशी नागरिकको उपस्थितिलाई लिएर कतिपय सन्दर्भमा विवाद र आलोचना भइरहेका बेला एक सरकारी उच्च अधिकारीले विदेशीमाथि कडा निगरानी गर्नुपर्ने बताएका छन् । अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले नेपाल आउने विदेशीमाथि निगरानी बढाउनुपर्ने बताउनुभएको हो । अध्यागमन ऐनसम्बन्धी छलफलमा बोल्दै महानिर्देशक तिवारीले सो धारणा राख्नुभएको हो ।
अध्यागमनको क्षेत्रमा सुधारका लागि माग भइरहँदा महानिर्देशक तिवारीले नेपालीका लागि मात्र नभई विदेशीको हकमा समेत सचेत हुनुपर्ने धारणा राख्नुभएको हो । नेपाल आउने विदेशीको स्वार्थलाई हेर्नुपर्ने उहाँको भनाइ थियो ।
अध्यागमनमा सुधारका लागि नतिजा दिने गरी काम भइरहेको तिवारीले जानकारी दिनुभयो । पर्याप्त जनशक्ति नहुँदा प्रभावकारी कदम चाल्न नसकिएको भन्दै उहाँले अध्यागमन कार्यालयमा सूचना प्रविधिलाई प्राथमिकता दिनुपर्ने समेत बताउनुभयो ।
यसैबीच, सरकारले नयाँ सम्झौताअनुसार राहदानी जारी नभएसम्म हालकै आपूर्तिकर्ता कम्पनीसँग राहदानी खरिद गर्ने भएको छ । मन्त्रीपरिषद्को आजको बैठकले अन्तरिम अवधिका लागि ७ लाख थान विद्युतीय राहदानी हालको आपूर्तिकर्ता कम्पनीसँग भेरिएसन आदेशबाट खरिद गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
केही महिनाभित्र राहदानीको अभाव हुने देखिएपछि सरकारले नयाँ सम्झौता अनुसार राहदानी प्राप्त नहुँदासम्मका लागि वैकल्पिक उपाय अपनाएको हो ।











