नेकपा र जसपाबीच एकता घोषणाको तयारी
मंसिर ५, २०८२ | काठमाडौं
नेपाली कम्युनिष्ट पार्टी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी जसपा बीच आज एकताको घोषणा गर्ने तयारी गरिएको छ । दुई दलबीच सहमतिको ड्राफ्ट तयार भइसकेको भन्दै आज घोषणा गरिने नेताहरुले दाबी गरेका छन् । नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा हिजो भएको छलफलले एकताको प्रक्रिया लगभग निष्कर्षमा पुगेको छलफलमा सहभागी नेता प्रकाश ज्वालाले जानकारी दिनुभयो ।
नेपाली विशेषताको समाजवादलाई क्रान्तिको कार्यदिशा बनाउने, नेकपाले मार्गदर्शक सिद्धान्त मानेको माक्र्सवाद र लेनिनवादमा जसपाले सहमति जनाएको छ । नेता प्रकाश ज्वालाका अनुसार जसपाका सबै केन्द्रीय सदस्य स्वतः नेकपाको केन्द्रीय सदस्य हुने सहमति भएको छ ।
सहमतिको ड्राफ्टलाई आज अन्तिम रुप दिइने छ । यसअघि तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा समाजवादीलगायत दर्जन कम्युनिस्ट घटकबीच नेपाली कम्युनिस्ट पार्टी बनाउन भएको १८ बुँदे सहमति कार्यान्वयनमा दुवै पक्ष सहमत छन् ।











