आगामी निर्वाचनका लागि १० लाख भन्दा बढी मतदाता थपिए

रेडियो कान्तिपुर संवाददाता

पुस ७, २०८२ | काठमाडौं

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि १० लाख भन्दा बढी मतदाता थपिएका छन् । निर्वाचन आयोगका अनुसार हालसम्म १० लाख १६ हजार ७ सय ५४ मतदाता बढेका हुन् । सिंहदरबारमा आज भएको सर्वपक्षीय छलफलमा आयोगका सहसचिव नारायणप्रसाद भट्टराईले अघिल्लो निर्वाचन भन्दा झन्डै ६ प्रतिशत मतदाता बढेको जानकारी दिनुभएको हो ।

जेन जी आन्दोलनपश्चात् संसद विघटन भएर निर्वाचनको मिति घोषणापछि आयोगले मतदाता नामावली संकलनका पटक पटक मौका दिएको थियो । आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १ सय १४ दलले भाग लिने भएका छन् । दलहरुको संख्या वृद्धि भएसँगै प्रतिस्पर्धा पनि बढ्ने आयोगका सहसचिव भट्टराइले बताउनुभयो ।

प्रधानमन्त्री सुशीला कार्की समेत सहभागी भएको बैठकमा आयोगले निर्वाचन तयारीबारे जानकारी गराएको हो । आयोगका अनुसार निर्वाचनमा प्रयोग हुने ५१ प्रकारका सामग्री पहिचान गरी खरिदका लागि विभिन्न काम भइरहेको छ ।

यसैबिच सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था गर्न कानून संशोधनको प्रक्रिया अगाडी बढेको बताएको छ । सिंहदरबारमा आगामी निर्वाचनसम्बन्धी भएको सर्वपक्षिय छलफलमा गृहमन्त्रालयका सहसचिव आनन्द काफ्लेले अदालतको फैसला र विभिन्न पक्षबाट आएका मागका आधारमा निर्वाचन कानून संशोधन प्रक्रिया अगाडी बढाइएको बताउनुभयो ।

 विदेशमा रहेका नेपालीलाई मताधिकार दिन, अन्तरजिल्ला मतदान तथा नो भोटको व्यवस्थाका लागि ४ वटा ऐन संशोधनको प्रक्रिया अगाडी बढाइएको जानकारी दिनुभयो । विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्दा र अन्तर जिल्ला निर्वाचनका लागि सुरक्षा योजना लगायतमा काम गरिने मन्त्रालयको भनाइ छ । 


प्रतिक्रिया