निर्वाचनलाई भूराजनीतिको चक्रव्युहमा पार्ने षडयन्त्रको रुपमा प्रयोग गर्न खोजिएको छ : पोखरेल
माघ १६, २०८२ | काठमाडौं
एमाले महासचिव शंकर पोखरेलले आगामी निर्वाचनलाई भूराजनीतिको चक्रव्युहमा पार्ने षडयन्त्रको रुपमा प्रयोग गर्न खोजिएको आरोप लगाउनुभएको छ ।
पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले नेपालमा भारत र चीनविरुद्ध चलखेल गर्ने अखडा बनाउन खोजिएको बताउनुभयो । शक्ति राष्ट्रले गर्ने षड्यन्त्रको सामना गर्न आफूहरु तयार रहेको महासचिव पोखरेलले बताउनुभयो ।
यसैबीच, एमालेले ‘बलियो राष्ट्रियता र सुदृढ लोकतन्त्र’ मूलमन्त्रसहित चुनावी घोषणापत्र ल्याउने भएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षासहित नीति कार्यक्रम समावेश गरी घोषणापत्रलाई अन्तिम रुप दिने एमालेको तयारी छ ।
घोषणापत्रबारे एमालेले ५० विज्ञसँग छलफल गरेको थियो । घोषणापत्रमा समेट्नुपर्ने विषयमा छलफल गरी उसले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रका सुझाव पनि मागेको छ ।









