राष्ट्रपति पौडेल आगामी आइतबार जापानको राजकीय भ्रमणमा जाने

रेडियो कान्तिपुर संवाददाता

माघ १५, २०८२ | काठमाडौं

राष्ट्रपति रामचन्द्र पौडेल आगामी आइतवार जापानको राजकीय भ्रमणमा जाने हुनुभएको छ । नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठको अवसरमा आयोजित कार्यक्रममा भाग लिन राष्ट्रपति पौडेल चार दिनका लागि जापान जान लाग्नुभएको हो ।

 राष्ट्रपति निर्वाचित भएपछि पौडेलको पहिलो आधिकारिक विदेश भ्रमण हो । यसैबीच, सरकारले राष्ट्रपति पौडेलको जापान भ्रमण स्वीकृत गरेको छ । भ्रमणका क्रममा राष्ट्रपति पौडेलले टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानी सम्राट नारुहितोसँग शिष्टाचार भेट गर्ने तय भएको बताइएको छ ।

 त्यस्तै जापानी प्रधानमन्त्री साने ताकाइचीले राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्नुहुनेछ । भ्रमणका क्रममा दुई देशबीच कुनै सम्झौता वा समझदारी पत्र हस्ताक्षर नहुने परराष्ट्र मन्त्रालयका अधिकारीहरुले बताएका छन् । नेपाल र जापानबीच सन् १९५६ सेप्टेम्बर १ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । जापानले अनुदान, ऋण, प्राविधिक सहयोग तथा अन्य द्विपक्षीय व्यवस्थामार्फत नेपालको पूर्वाधार विकासमा योगदान गर्दै आएको छ । 


प्रतिक्रिया