न्यु डायमण्ड क्लव छैटौं टाइगर कप भलिवलको महिलातर्फ विजेता
माघ १६, २०८२ | काठमाडौं
पोखरामा आयोजित टाइगर कप भलिबल च्याम्पियनसिपले नयाँ च्याम्पियन पाएको छ । छैटौं संस्करणको महिलातर्फको फाइनलमा आज नेपाल पुलिस क्लवलाई हराउँदै न्यु डायमण्ड युथ स्पोर्टस क्लबले पहिलो पटक उपाधि उचालेको हो ।
पोखरा रंगशालाको भलिबल कोर्टमा भएको खेलमा न्यु डायमण्डले पुलिस क्लबलाई ३–० को सोझो सेटमा मात खुवायो । प्रतियोगिताभर अपारजित रहेको न्यु डायमण्डले ५ खेलमा कुनै सेट नगुमाई च्याम्पियन बनेको हो ।
न्यू डायमण्डले एक महिनाको अन्तरमा पुलिसलाई हराएको यो तेस्रो अवसर हो । काभा क्लब च्याम्पियनसिपको तयारीमा रहेको नेपाल पुलिसलाई न्यु डायमण्डले एनभिए च्याम्पियनसिप र केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा पनि हराएको थियो ।









