अनुदानको नुन महँगोमा किन्न बाध्य बझाँङबासी

माघ २, २०७३ | बझाङ

सरकारले साल्ट ट्रेडिङ कर्पोरेशन मार्फत बझाङका जनतालाई अनुदानमा दिने आयोडिन यूक्त नुन व्यापारीले खरिद गरेर महंँगोमा बेच्ने गरेको पाइएको छ । साल्ट ट्रेडिङले बझाङका बासिन्दालाई आयोडीनयुक्त नुन प्रति किलो नौ रुपैँयामा विक्री गर्ने गरेको भए पनि सदरमुकाम बाहिरका ब्यापारीले ठुलो मात्रामा नुन खरिद गरी २० देखी २५ रुपैँयामा विक्री गर्ने गरेको पाइएको हो । 

स्याडी गाविसका व्यापारीले करन बोहराले भने चैन्पुर र बागथला डिपोबाट क्विन्टलका क्विन्टल नुन खरिद गरेर ल्याउँछन । ‘साल्ट ट्रेडिङले नौ रुपँैयामा दिने नुनको व्यापारीले २०/२५ रुपैँया लिन्छन ।’ स्याडी र देउलेक गाविसका न्युन आय भएका स्थानियले आयोडिन यूक्त नुन महंगो हुने भएकाले ढिके नुन नै प्रयोग गर्ने गरेको उनले बताए । 

रायल गाविसकी भुवनेश्वरी सिहंले विक्री केन्द्रसम्म पुग्न नसक्ने अधिकांश सर्वसाधारणले स्थानिय बजारका पसलबाटै नुन किन्ने गरेको बताइन । उनले भनिन ‘कोही कोही मात्र डिपो सम्म पुगेर नुन किन्छन । धेरै जसोले आयोडिनयूक्त नुन महंगो भएका कारण किन्न सक्दैनन । ढिके नुन नै प्रयोग गर्ने गरेका छन’ ।

विथ्थड, स्याडी, देउलेख, झोता, बागथला, बिजगडा, चैनपुर लगायतका बजारमा अनुदानको नुन महंगोमा विक्री भैरहेको पाइएको छ । एक जना व्यक्तिलाई ५० किलो भन्दा बढी नुन नदिने गरेको बताउने साल्ट ट्रेडिङ बझाँङका डिपो प्रमुख टेकबहादुर बोहराले कसैले धेरै व्यक्तिको सुचिमा दिएमा सुचिको आधारमा बढी पनि दिने गरेको बताउनुभयो ।

सुची पेश गरे पनि मानिस उपस्थित हुन पर्ने व्यवस्था भएको तर भिडभाडमा कतिपयले झुक्याउने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, नुन विक्री गर्दा को ब्यापारी हुन/को होइनन भन्ने हामीलाई थाहा हुदैँन । लिस्ट पेश गरेर नुन लैजान्छ’ । 

कसैले भानु नुनको बिक्री गरेमा र मुल्य बढी लिएमा वा पसलमा नुन लुकाएमा नजिक रहेको प्रशासन, प्रहरी र साल्ट ट्रेडिङ कर्पोरिशन कार्यालयमा जानकारी गराउन समेत बोहराले अनुरोध गर्नुभयो । 

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सुचना नै प्रकाशित गरी सुदुरपश्चिमका दुर्गम जिल्लालाई सरकारले अनुदानमा वितरण गर्ने भानु नुन बजारमा विक्री गर्न नपाइने बताएको छ ।

यस्तो गरेको पाइएमा कालोबजारी ऐन अन्र्तगत कारबाही गरिने साल्ट ट्रेडिङले जनाएको छ । हाल बझाङ जिल्लामा साल्ट ट्ेरडिङले आयोडिनयुक्त नुन तल्कोट, बागथला, चैनपुर डिपो कार्यालयबाट विक्री गर्दै आएको छ ।  

यता प्रमुख जिल्ला अधिकारी सुनील खनालले अनुदानको नुन कसैले विक्री गरेको पाईए कानुनी कारवाही गरिने बताउनुभयो । उहाँले कुनै ठांउँमा त्यसो गरेको पाइएमा प्रमाण सहित जिल्ला प्रशाशन कार्यालयमा निवेदन दिए कालोबजारी ऐन अन्र्तगत कारबाही गरिने बताउनुभयो । 

 

 

 


प्रतिक्रिया