धनुषामा एमालेविरुद्ध खनिए काँग्रेस नेताहरु
श्रावण १९, २०७४ | जनकपुर
प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमाले राष्ट्रिय एकताको प्रमुख वाधक रहेको बताउनुभएको छ । नेपाली काँग्रेस धनुषाले आज जनकपुरमा आयोजन गरेको दुई नम्बर प्रदेश स्तरीय बृहद् कार्यकर्ता भेलालाई सम्वोधन गर्दै कंग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले एमालेको पहाडे राष्ट्रवादको कारण मुलुकमा पहाडे र मधेसी बीच धु्रवीकरण भएको आरोप लगाउनुभयो ।
संविधान संशोधन मधेसको मात्र नभई राष्ट्रिय मुद्दा भएकाले यसलाई पारित गराउन काँग्रेस संकल्पित रहेको उल्लेख गर्दै उनले एमालेको कारण संविधान संशोधन प्रस्ताव पारित हुन विलम्ब भई रहेको बताउनुभयो ।
देउवाले भन्नुभयो, ‘संशोधन मधेसको मात्र होईन, सिंगै नेपालको मुद्दा हो, यसलाई पारित गराउन एमालेले पनि भूमिका खेल्नु पर्दछ ।’ मधेस नेपाली काँग्रेसको आधारभूमि भएको उल्लेख गर्दै उहाँले वर्तमान सरकारले मधेसको विकास निर्माणलाई प्राथमिकतामा राखेको दावी गर्नुभयो ।
कार्यक्रममा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले एमालेको कारण संविधान कार्यान्वयनमा समस्या उत्पन्न भएको आरोप लगाउनुभयो । उहाँले राष्ट्रिय जनता पार्टीलाई पनि निर्वाचनमा सहभागी हुन आग्रह गर्नुभयो ।
असोज २ गते प्रदेश नम्बर २ मा हुने स्थानीय तह निर्वाचन अभियानको प्रारम्भ गर्न सभापति देउवा, नेता पौडेल, महामन्त्री सशांक कोइराला, लगायत नेताहरु आज जनकपुर पुगेका हुन् ।