डुबानका बेला शुद्ध पानीको जोहो कसरी गर्ने ?

भाद्र १, २०७४ | काठमाडौं
बाढी पहिरोले तराईका अधिकांशको जिल्लाको दैनिकी कष्कटर बन्दै गएको छ । बाढी प्रभावित जिल्लामा पानीको मुहानलाई धमिल्याउँदा यसले विभिन्न रोगव्याधी निम्त्याउने सम्भावना पनि उच्च हुने गर्छ । यस्तो अवस्थामा पानी शुद्धिकरण गरेर प्रयोग गर्नु आवश्यक छ ।
शुद्धिकरण गर्नुभन्दा पहिले सफा गर्नु आवश्यक
बाढी पहिरो गएको ठाउँमा पानीका मुहान कि त डुबानमा परेका छन् कि द्रुषित भएका छन् । द्रुषित पानी पिउँदा बाढी प्रभावित क्षेत्रमा थप माहामारी फैलन सक्ने सम्भावना उच्च हुन्छ । सामान्यता हामी पानीलाई शुद्ध बनाउन फिल्टर गरेर र उमालेर प्रयोग गर्छौ । तर बाढी पहिरोजस्तो विपत्को अवस्थामा यी सब प्रकृया असहज हुन जान्छन् । वातावरणविद् भुषण तुलाधर पानी शुद्धिकरण गर्नुभन्दा पहिले सफा गर्नु आवश्यक रहेको बताउनु हुन्छ । वातावरणविद् तुलाधरका अनुसार पानी धमिलो छ या माटो मिसिएको छ भने पहिले पानी छान्नु आवश्यक छ ।
पानी छान्ने विधि
पानी धमिलिएको छ या माटो मिसिएको छ भने पहिले पानी छान्नु आवश्यक छ । यसका लागि केही विधिहरु यसरी अपनाउन सकिन्छ –
– एउटा बाल्टिनमा पानी लिने र केही समय थिग्रिन दिने ।
– घरमा उपलब्ध पातलो/मसिनो कपडामा पानी छान्न सकिन्छ ।
– यदि फिट्कीरी उपलब्ध छ भने केही समय पानीमा डुबाएर राख्ने । यसले पानीमा भएको माटो या अन्य वस्तुहरु भएपनि थिग्रिन मद्दत गर्दछ ।
पानी शुद्धिकरण गर्ने विधि
फोहोरमैला तथा दिसा पिसाब मिसिएको पानी प्रयोग गरिए झाडापखाला, हैजा, बान्ता जस्ता रोगको संक्रमण हुन्छ । सफा गरिसकेपछि मात्रै पानीमा रहेका किटाणुलाई नष्ट गर्ने अर्थात् शुद्धिकरण गर्ने विधि अपनाउन सकिन्छ । धमिलिएको पानीलाई सफा गरेपछि त्यसमा पियुस राखेर शुद्ध बनाउन सकिन्छ । पानीमा पियुसको थोपाको मात्रा मिलाउनु पनि आवश्यक छ । मात्रा नमिलेको खण्डमा त्यसले पानीको स्वाद बिग्रान पनि सक्छ । त्यसैले एक लिटर पानीमा तीन थोपा पियुसको मात्रा राख्नुपर्ने तुलाधारको सुझाव छ ।
फिल्टर उपलब्ध भएको ठाउँमा फिल्टर गर्न सकिन्छ । त्यस्तै, घामपानी विधिबाट पनि पानी शुद्धिकरण गर्न सकिन्छ । पारदर्शी पानीको बोतल जस्तै – मिनरल वाटर, विभिन्न पेय पदार्थको प्लाष्टिकको बोतलमा पानी राखेर घामको किरण आउने ठाउँमा राख्न सकिन्छ । यो विधिबाट ६/७ घण्टामा पानीमा रहेका किटाणु नष्ट भएर जाने तुलाधर बताउनुहुन्छ ।
विपद्को समयमा विभिन्न संघ संस्थाले राहतको रुपमा पानी वितरण गर्दा पानी शुद्धिकरण गर्ने उपायबारे बताउन पनि तुलाधरको आग्रह छ । विशेषगरी यो समयमा दिसापिसाबको व्यवस्थापनमा पनि ध्यान दिनु जरुरी छ । दिसापिसाबलाई उचित व्यवस्थापन नगरे त्यसबाट पनि झन् संकट निम्तने तुलाधरको भनाई छ ।
बाढी र पहिरोले यो वर्ष मात्र नभई वर्षेनी कयौ पानीका मुहानहरु दुषित पार्नुका साथै नष्ट पनि गरेको छ । जसले त्यहाँका पीडितको स्वास्थ्यमा प्रत्यक्ष रुपमा प्रभाव समेत पार्छ । त्यसैले यस्ता महत्वपूर्ण तरिका हामीलाई विपदको यो समयमा मात्र नभई सधै आवश्यक पर्छ ।