मानव बेचबिखनमा संलग्न एक पक्राउ

वैशाख २०, २०८२ | पर्सा

मानव बेचबिखनमा संलग्न रहेको आरोपमा पर्साको वीरगञ्जबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१ का २९ वर्षीय सुजन भन्ने पासाङ तामाङलाई प्रहरीले पक्राउ गरेको हो । 

उनलाई बुधबार साँझ ७ बजेतिर वीरगञ्जस्थित नेपाल भारत सीमाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास भट्टले बताउनुभयो । 

एक युवतीसहित शंकास्पद अवस्थामा नेपालबाट भारततर्फ जाने क्रममा तामाङलाई प्रहरी चौकी इनर्वाबाट खटिएको टोलीले वीरगञ्ज–१६ शंकराचार्य गेटस्थित सडकखण्डमा सोधपुछ गरेको थियो । 

आफन्त नेपाल नामक संस्थाका कर्मचारी समेतको उपस्थितिमा सोधपुछ गर्दा शंकास्पद देखिएकाले उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई प्रारम्भिक अनुसन्धान गरिएको थियो । त्यसक्रममा तामाङले वीरगञ्ज नजिक कपडा कारखानामा राम्रो आम्दानी हुने काममा लगाई दिने भनि प्रलोभनमा पारी बेचबिखन गर्ने उद्देश्यले ती युवतीलाई भारततर्फ लैजाँदै गरेको खुलेको प्रहरीले जनाएको छ । 

तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन २०६४ बमोजिमको कसूरमा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया