बागमती प्रदेशमा २६ वटा पशु स्वास्थ्य क्लिनिक निर्माण

वैशाख २०, २०८२ | मकवानपुर

बागमती प्रदेशमा २६ वटा पशु स्वास्थ्य क्लिनिक निर्माण भएका छन् । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा समावेश गरिएको ‘एक वडा एक पशु स्वास्थ्य क्लिनिक’ कार्यक्रम अन्तर्गत हालसम्म २६ वटा पशु स्वास्थ्य क्लिनिक निर्माण गरेको हो । 

सरकारले प्रदेशभित्र पशु स्वास्थ्य सेवा पुग्न नसकेका ३० स्थानमा पशु स्वास्थ्य क्लिनिक स्थापना गर्ने निर्णय गरेपनि ४ स्थानमा भने विभिन्न कारणले क्लिनिक निर्माण कार्य रोकिएको छ । 

हालसम्म चितवनमा ४, मकवानपुरमा ३, सिन्धुलीमा २, रामेछापमा २, दोलखामा ३, सिन्धुपाल्चोकमा ३ र काभ्रेमा ५ वटा पशु स्वास्थ्य क्लिनिक निर्माण सम्पन्न गरिसकेको प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको पशुपन्छी विकास महाशाखाका पशु अधिकृत डा.सुवास क्षेत्रलीले जानकारी दिनुभयो । उहाँका अनुसार धादिङमा भने ४ वटा पशु स्वास्थ्य क्लिनिक निर्माणाधिन अवस्थामा छ । 

धादिङमा निर्माणाधिन पशु स्वास्थ्य क्लिनिकको भवनको काम पनि अन्तिम चरणमा पुगेको डा.क्षेत्रीले बताउनुभयो । ३० वटा स्थानमा पशु स्वास्थ्य क्लिनिक निर्माण गर्ने प्रदेश सरकारको तयारी रहेपनि ललितपुरमा ठेक्का नै नपरेको र नुवाकोटमा आवश्यक जग्गा उपलब्ध नहुँदा निर्माणको काम रोकिएको उहाँको भनाई छ । 

प्रदेशमा पशुपन्छीको संख्या बढी भएको ठाउँ र भेटेरिनरी विज्ञ केन्द्रको पहुँचबाट टाढा रहेका गाउँमा क्लिनिक स्थापना भएको मन्त्रालयका प्रवक्ता सुजन कडेँलले जानकारी दिनुभयो । ‘क्लनिकमा एक जना पशु स्वास्थ्य प्राविधिक सहितका कर्मचारी रनेछन्’, कँडेलले भन्नुभयो, ‘यहाँबाट पशुपन्छीको सबैखालको उपचार सेवा उपलब्ध हुनेछ ।’ 

क्लिनिक स्थापना भएपछि प्रदेशका विकट ग्रामीण भेगका किसान लाभान्वित हुने कँडेलले बताउनुभयो । पशु स्वास्थ्य क्लिनिक निर्माणका लागि छुट्टयाईएको १५ करोड रुपैयाँ बजेटमा एक पशु स्वास्थ्य क्लिनिक निर्माणका लागि ५० लाख रुपैयाँ खर्च भएको प्रवक्ता कँडेलले जानकारी दिनुभयो ।


प्रतिक्रिया