प्रम देउवाको अपिल– संविधान संशोधन गराउन काँग्रेसलाई भोट
भाद्र २८, २०७४ | काठमाडौं
प्रधानमन्त्री एवं काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन गराउन तीनै तहको निर्वाचनमा नेपाली काँग्रेसलाई मतदान गर्न अपिल गरेका छन् ।
नेपाली काँग्रेस धनुषाले आज जनकपुरमा आयोजन गरेको स्थानीय तह सम्बन्धी चुनावी सभालाई संवोधन गर्दै उनले भने– ‘एमालेको असहयोगको कारण संविधान संशोधन हुन सकेन, तीनै तहको निर्वाचनमा काँग्रेसलाई दुई तिहाई बहुमत दिनोस् अनि मधेसको हितमा संशोधन गराउनोस् ।’
एमालेमाथि आक्रामक देखिएका प्रमं देउवाले केपी ओली नेतृत्वको नेकपा एमाले मुलुकमा जातीय द्वन्द फैलाउन खोजेको आरोप लगाए । उनले भने– ‘नेपालमा सबै जात र धर्मका मानिसहरु मिलेर बसेको ईतिहास छ तर एमाले पहाड र मधेस बीच फाटो पारी राष्ट्रिय एकतालाई खलवलाउन खोजेको छ ।’
संविधान कार्यान्वयन तथा सर्वस्वीकार्यताको लागी संविधान संशोधन आवश्यक भएको उल्लेख गर्दै प्रमं देउवाले भने– ‘म स्वयं ओलीको निवासमा पुगेर संशोधनमा सहयोग गर्न आग्रह गरें तर उहाँ मान्नु भएन ।’ सिंगै मधेस र मधेसीको विपक्षमा रहेको एमालेलाई ‘बैलेट’बाट जवाफ दिन उनले मधेसी समुदायसंग आग्रह गरे ।
बाढी र सुखा मधेसको मुख्य समस्या भएको उल्लेख गर्दै उनले यस समस्याको दीर्घकालीन समाधानको लागी बाढीपिडित प्राधिकरण निर्माण गरिने प्रतिवद्धता समेत व्यक्त गरे ।
सीमावर्ती भारतीय क्षेत्रमा निर्माण गरिएको उँच्च बाँधका कारण मधेसको भूमि डुवानमा परेको स्वीकार गर्दै उनले यस समस्याको समाधानका लागी भारतसंग सहकार्य भै रहेको जानकारी दिए । आफ्नो भारत भ्रमणको क्रममा दुबै देशका प्राविधिक सम्मिलित प्राविधिक टोली गठन गर्ने विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग सार्थक छलफल भएको उनले बताए ।
काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले एमाले तथा माओवादी केन्द्रलगायतका प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको पक्षधर दलहरुमाथि मुलुकलाई पुन: अर्को द्वन्दमा फसाउन खोजेको आरोप लगाए ।
‘वर्तमान संविधानले संसदीय व्यवस्थालाई संस्थागत गरि सकेको अवस्थामा एमाले र माओवादी केन्द्रलगायतका केही दलले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको कुरा उठाएर मुलुकलाई पुन: अर्को द्वन्दमा धकेल्न खोज्दैछ’, उनले भने । संसदीय व्यवस्था समावेशी भएको उनको दावी थियो ।
धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्वको जनकपुरलाई पर्यटकीय नगरको रुपमा विकास गर्नु पर्ने उनले बताए ।
नेपाली काँग्रेसका पूर्व महामन्त्री विमलेन्द्र निधीले एमाले पूर्व राजा ज्ञानेन्द्रको गोटी बनेको आरोप लगाए । पूर्व राजा ज्ञानेन्द्रसंग मिलेर एमालेले संविधान संशोधन विधेयक विफल बनाएको निधीले खुलासा गरे ।
‘चीन पुगेर संघीयताको विरोध गर्ने, संविधान संशोधन विधेयक विफल बनाउन पूर्व राजासंग सहकार्य गर्ने एमाले संघीयता विरोधी पार्टी हो’, नीधिको कथन थियो ।
चुनावी सभामा काँग्रेस सभापति देउवासंगै वरिष्ट नेता रामचन्द्र पौडेल,महामन्त्री शशांक कोईराला, कोषाध्यक्ष सीता देवी यादव, पूर्व महामन्त्रीद्वय विमलेन्द्र निधी तथा कृष्ण सिटौला, बालकृष्ण खांड, प्रदीप गिरी तथा मन्त्रीहरु रामकृष्ण यादव र महेन्द्र यादवसहित दर्जन अधिक केन्द्रिय नेतासहित सहभागी थिए ।